नयाँ शक्ति र संघीय समाजवादी फोरम छिट्टै एक हुने


 


काठमाडौं, वैशाख ८

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच छिट्टै एकता हुने भएको छ। एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दुवै दलका शीर्ष नेता सम्मिलित कार्यदल गठन गरिएको छ।

कार्यदलमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई तथा संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई सदस्य रहेको शुक्रबार दुवै पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै जनाएका छन्।

समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा मधेसी मोर्चा र ६८ दलीय संयुक्त संघर्ष समितिले अघि सारेका माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन मागसमेत गरिएको छ।

मोर्चाले संविधान संशोधन र ६८ दलीय मोर्चाले पार्टीको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन पाउनु पर्ने माग राख्दै आएका छन्।

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्