मोर्चासँग बालुवाटारमा प्रधानमन्त्रीको निर्णायक वार्ता


 


काठमाडौं, वैशाख ८

सत्तारुढ दलहरु र मधेसी मोर्चाबीच अहिले बालुवाटारमा वार्ता भइरहेको छ । स्थानीय तह निर्वाचन निकै नजिक आइसकेका बेला निर्णायक छलफलका लागि भन्दै प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बालुवाटार बोलाएका हुन । वार्ताका लागि मोर्चा आबद्ध ’राष्ट्रिय जनता पार्टी’ राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा तथा संघीय समाजवादी फोरम नेपालबाट अशोक राई, राजेन्द्र श्रेष्ठ लगायत नेता बालुवाटार पुगेका छन्।

फोरम अध्यक्ष उपेन्द्र यादव भने वार्तामा सहभागी छैनन् । मोर्चामा यसअघि ७ दल थिए । बिहीबार ६ वटा दल एकीकरण भएर राजपा गठन भएपछि दलको संख्या २ मा झरेको हो । वार्तामा सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शेखर कोइराला तथा माओवादी केन्द्रबाट वर्षमान पुन अनन्त लगायत सहभागी छन ।

प्रधानमन्त्रीले निर्वाचनबारे मोर्चाको स्पष्ट धारणा बुझ्न खोजेको उनको सचिवालयले जानकारी दियो । मोर्चा सहभागी हुने अवस्थामा स्थानीय निर्वाचन २ चरणमा गर्ने मनस्थितिमा उनी छन । मोर्चा नआउने भए एकै चरणमा निर्वाचन गर्ने तयारी छ । यद्यपी मोर्चाले भने आफ्नो माग पूरा नभएको भन्दै निर्वाचन बहिष्कारको घोषणासहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्