‘वान बेल्ट वान रोड’ मा नेपालले शर्तसहित हस्ताक्षर गर्ने


 


काठमाडौं, वैशाख ८

घोषित स्थानीय निर्वाचन बैशाख ३१ कै दिन बेइजिङमा सुरुहुने ‘वान बेल्ट वान रोड’ को शिखर सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता रहने प्रायः निश्चित भएको छ । उपराष्ट्रपति वा उपप्रधानमन्त्री कसको नेतृत्व रहने विषय अन्तिम टुंगोमा पुग्न नसकेको भए पनि केही मन्त्रीहरु त्यहाँ सहभागी हुनेछन् । नेपालले उक्त शिखर सम्मेलन अगावै ओबरमा ‘सर्तसहित हस्ताक्षर’ गर्ने तयारी गरिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत महिना सम्पन्न चीन भ्रमणमा भएको प्रतिवद्धताअनुरुप ओबरमा हस्ताक्षर अन्तिम टुंगोमा पुर्‍याउन लागि परेको यसमा संलग्न परराष्ट्र अधिकारीले बताए । नेपाललाई कुन केन्द्रबाट जोड्ने भन्ने विषय नखुल्दा नेपाल हस्ताक्षर गर्न अघि सरेको थिएन ।

चीनले केरुङ नाकालाई अन्तराष्ट्रिय स्तरको बनाउँदै दक्षिण एसिया जोड्ने र केरुङ काठमाडौं सडकका लागि लगानी गर्ने धारणा पनि उनीहरुले ब्यक्त गरिसकेकाले अव ओबरमा नेपाल स्पष्ट भएर बढ्न लागेको ती अधिकारीको भनाइ छ ।

बैशाख ३१ र जेठ १ मा हुने ओबर सम्मेलनमा उच्चस्तरको सहभागिता रहने सरकारका प्रवक्ता तथा संचारमन्त्री सुरेन्द्र कार्कीले बताए । सम्मेलनमा चीनले नेपालको उच्च नेतृत्वकै सहभागिता खोजिरहेकोले सरकार त्यसको गृहकार्यमा छ ।

ओबरबारे नेपालले एक पटक आफ्नो धारणा पठाए पनि चीनले उक्त प्रस्ताव पुनः फिर्ता नगरेपछि नेपाल पक्ष अन्यौलमा परेको धारणा परराष्ट्र अधिकारीको छ । तर, अहिले त्यसमा समेत केही प्रगति भएको र दुवैलाई ‘वीन वीन’ हुने गरी सम्झौता हुने अन्तिम तयारीमा पुगेको परराष्ट्रका एक अधिकारीले बताए ।
यो खबर हामिले आजको कान्तिपुर दैनिकबाट लिएका हौँ ।

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्