गोली प्रहारबाट एक प्रहरी मारिए, दुई घाईते


 


एजेन्सी, बैशाख ८

फ्रान्सको राजधानी पेरिसमा गरिएको गोलीकाण्डमा आतंकवादीको संलग्नता रहेको राष्ट्रपति फ्राँस्वाँ ओलान्दले दावी गरेका छन् । एक प्रहरी मारिने गरी गराइएको आक्रमणमा अरु दुई जना घाइते भएका छन् । प्रहरी कारवाहीमा गोली प्रहार गर्ने व्यक्ति पनि मारिएका छन् ।

इस्लामिक अतिवादी समूह आईएसले घटना आफूले गराएको दावी गरेको छ । पेरिसको शान्जे लीजे भन्ने स्थानमा भएको घटनापछि शहरभरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

एउटा कारबाट उत्रेका आक्रमणकारीले एकाएक स्वचालित बन्दूकले प्रहरीको बसमाथि गोली प्रहार गरेर भागेको र पछि प्रहरी कार्वाहीमा मारिएको प्रहरीले जनाएको छ ।

फ्रान्समा आइतवार राष्ट्रपति पदको निर्वाचन हुँदैछ । निर्वाचनको ठीक अगाडी भएको घटनापछि मुलुकभर आतंकवाद विरोधी अभियान तीब्र पारिएको जनाइएको छ ।

राष्ट्रपति निर्वाचनको मूख्य मुद्दा नै इस्लामिक आतंकवाद रहेको छ । सन् २०१५ देखि अहिलेसम्म फ्रान्समा भएको इस्लामिक अतिवादी आक्रमणमा २ सय ३८ जना मारिइसकेका छन् । जस मध्ये धेरै घटनाको जिम्मेवारी आईएसले लिएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्