प्रथम पूर्वाञ्चलस्तरीय फुटबलको उपाधि बिर्तामोडलाई


 


काठमाडौं, वैशाख ३

झापाको लखनपुरमा सम्पन्न प्रथम पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लबले हात पारेको छ। आज भएको फाइनल खेलमा लखनपुर- ११ लाई सडन डेथमा ४-३ को गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि हात पारेको हो।

स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानको आयोजनामा भएको खेलमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल ट्राइ ब्रेकरमा धकेलिएको थियो।

ट्राइ ब्रेकरमा समेत खेल बराबरी भएपछि सडन डेथबाट निर्णय लिनुपरेको थियो। सडन डेथमा लखनपुरका गोलरक्षक किशोर गिरीले प्रहार गरेको बल बाहिरिएपछि बिर्तामोडले उपाधि उचालेको हो। खेलमा अग्रता भने लखनपुरले लिएको थियो। खेलको ६७औँ मिनेटमा लखनपुरका लागि रञ्जित श्रेष्ठले गोल गरेका थिए।

त्यसलगत्तै बिर्तामोडका लागि राज पौडेलले खेलको ७८औँ मिनेटमा गोल फर्काएका थिए।  आजको खेलको म्यान अफ दि म्याच बिर्तामोडका गोल रक्षक विशाल मुखिया भए। उनले नगद तीन हजार रुपैयाँ पाए। यस्तै बिर्तामोडका कप्तान योगेश गुरुङ प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए।

उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे। जीतसँगै बिर्तामोडले नगद एक लाख एक हजार १११ रुपैँया हात पार्‍यो भने उपविजेता बनेको लखनपुरले नगद ५० हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र हात पार्‍यो।

यसअघि आजै भएको नेपाल पत्रकार महासंघ झापा र कलाकार ११ बीचको खेलमा कलाकारले जीत हासिल गरेको छ। उसले पत्रकारलाई २-१ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको हो।

प्रकाशित मिति: ३ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्