दशकौंसम्म त्रासैत्रासः १०३ वर्षमा बल्ल घरको बास !


 


काठमाडाैं, वैशाख २

‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ,’ दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस–सुन्तलीसँग खुसी साट्दै भनिन, ‘पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थेँ, बाबु ।

पानी पर्दा छानो चुहिन्थ्यो । जाडोमा न्यानो ओछ्यान र ओढ्ने थिएन । आगो तापेर रात काट्थेँ । तपाईंहरुले मजस्तो बूढीका लागि जाडो र झरी छल्ने घर बनाइदिनुभयो ।’

नयाँ वर्ष २०७४ सँगै करोडौं नेपाली आपसमा सुख, संवृद्धि, शान्ति र विकास र उन्नतिको शुभकामना आदान–प्रदान गरिरहँदा मरनी दुखिया जीवनले पनि अब बाँचुन्जेल खोरबाट मुक्ति पाएको छ ।

बाख्राको खोरमा सयभन्दा बढी वसन्त काटेकी उनले धुर्मुस–सुन्तलीको पहलमा निर्मित नयाँ पक्की घर पाउँदा खुसी बखान गरी साध्य छैन ।

धुर्मुस–सुन्तलीले आफ्नै स्वामित्वको घरमा नयाँ पहिरनमा प्रवेश गराउँदाको क्षणमा बुढ्यौलीले मुजा परेको मरनीको मुहारमा चमक नै बेग्लै थियो ।

अन्नपूर्ण पाेष्टले लेखेकाे खबर अनुसार मुहारमा त्यो चमकले उनको मात्रै होइन, मुसहर बस्तीका पुस्तौंदेखि रोग, भोक र अशिक्षाले थलिएका ५५ मुसहर परिवारका बालकदेखि बृद्धसम्मले अनुभूति गरेको साझा खुसीको प्रतिनिधित्व गरेको छ ।

प्रकाशित मिति: २ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्