भक्तपुरको बिस्केट जात्रा हेर्न आज बिहानैदेखि भीड


 


भक्तपुर, वैशाख १

नेपालको प्राचिन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । नयाँवर्ष अर्थात वैशाख १ गते भक्तपुरको भेलुखेलमा हिजो राती पौने १० बजे उठाइएको लिङ्गो जात्रा हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट हजारौंको बिहानैदेखि भीड लागेको छ ।

चैत्र मसान्तको दिन बेलुका गःहिटीमा रहेको भैरवलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरब र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हात लामो ईन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने परम्परा छ । चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य जात्रा एवं पूजा गरी बेलुका लिङ्गो ढाल्ने गरिन्छ ।

आज यो जात्रा हेरेमा मनोकांक्ष पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ ।  हिजो बेलुका लिङ्गो उठाउने क्रममा पहिलो लिङ्गो भाचिएर एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएपछि स्थानीय बासिन्दाले राती १० बजे अर्को लिङ्गो उठाएका थिए । लिच्छवीकालदेखि विस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् ।

परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा विस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । किम्वदन्ती अनुसार परापूर्वकालमा भक्तपुरका एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले छोरीसँग विहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने भनेपछि ती राजकुमारीसँग विहे गर्न धेरै आए र बिहे गरे ।

बिहे गरेकै रात राजकुमारको मृत्यु हुने भएकाले राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै स्थापना गरे । एकदिन बुद्धिमानी राजकुमारले राजकुमारीसँग विहे गरे र राती ओछ्याउनमा राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए ।

ती नागनागिनीले अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हाम्रो पुरूषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे । यसरी अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुसीयालीका साथ यो जात्रा मनाउन थालिएको र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो भेलुखेल स्थित ल्योसिंखेलमा ठड्याउने गरिन्छ ।

प्रकाशित मिति: १ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्