गोरखामा ६ दलले चुनावमा भाग लिन नपाउने


 


काठमाडौं, बैशाख १
गोरखामा ६ वटा राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन नपाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १६ मध्ये ६ दलले आउँदो चुनावमा भाग लिन नपाउने जिल्ला निर्वाचन अधिकारी राजेन्द्रप्रसाद पोखरेलले बताए । संसदमा प्रतिनिधित्व नगरेका दलहरुलाई चुनाव चिन्ह नदिने निर्वाचन ऐनमा उल्लेख भए अनुसार उनीहरुले दलीय हैसियतमा चुनावमा भाग लिन नपाउने भएका हुन् ।

निर्वाचन कार्यालयमा दल दर्ता भएपनि चुनाव चिन्ह नपाएपछि दलीय हैसियतमा चुनावमा भाग लिनबाट ती दल बञ्चित हुनुपरेको हो । जिल्ला निर्वाचन अधिकारी पोखरेलका अनुसार नयाँ शक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले जनसमाजवादी, युनाइटेड ग्रीन अर्गनाइजेशन, नेपाल गान्धीवादी पार्टी, देशभक्त पर्यावररणीय सामाजिक मोर्चा र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।

दुई वटा नगरपालिका र नौ वटा गाउँपालिका रहेको गोरखामा एक लाख ६९ हजार ४६ जना मतदाता छन् । चुनावमा लागि २ सय १३ मतदानस्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि शिक्षक, कर्मचारी गरी दुई हजार एक सय ५५ जना कर्मचारी खटाउने तयारी छ । वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिने र वैशाख १२ भित्र सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्