हस्ताक्षर बुझाउन आयोगले दिएको समयसीमा आज सकिँदै


 


काठमाण्डौ, चैत्र ३०

स्थानीय तह निर्वाचनका लागि पदाधिकारीको नाम र हस्ताक्षर नमुना बुझाउन निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदैछ । निर्वाचनका लागि दल दर्ता गराएका ८० दलमध्ये ५२ दलले मात्रै हिजोसम्म पार्टीका तर्फबाट उम्मेदवार मनोनयन औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम र हस्ताक्षर नमुना आयोगमा बुझाएका छन् ।

संसदभित्रको ठूलो दल नेपाली कांग्रेस र मधेसी मोर्चामा आबद्ध धेरैजसो दलले समेत हस्ताक्षर नमुना नबुझाएको आयोगले जनाएको छ । यद्यपी कंग्रेसले भने आज बुझाउने तयारी गरेको छ । यसैबीच ७५ वटै जिल्लाबाट मतदान केन्द्रको सिफारिस आयोगमा आइपुगेको छ ।

आयोगले अगामी ३ गतेभित्र मतदानकेन्द्र र मतदाता नामावलीको विवरण वेबसाइटबाट सार्वजनिक गर्ने तयारी गरेको छ । सबै जिल्लाबाट मतदानकेन्द्रको सिफारिस भैसकेकाले त्यसलाई अन्तिम रुप दिने काम भइरहेको प्रवक्ता शर्माले बताए । यसअघि चैत १० गतेभित्रै मतदान केन्द्रको सिफारिस पठाइसक्न भनेपनि प्रदेश नम्बर २ का विभिन्न जिल्लामा निर्वाचनको टुङ्गो नलाग्दा कार्यतालिका प्रभावित बनेको थियो ।

हिजो सिरहा र सप्तरीबाट समेत मतदानकेन्द्रको टुङ्गो लागेर सिफारिस प्राप्त आयोगमा आएपछि अन्तिम नामावली प्रकाशनको तयारी सुरु भएको हो । यसैबीच नर्वाचन केन्द्रित प्रशिक्षण अन्तर्गत आजबाट सात प्रदेशका २६ समूहमा जिल्लास्तररीय मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतबीच क्षेत्रिय स्तरको प्रशिक्षण सुरु हुँदैछ । निर्वाचन आयोगबाट खटिएका प्रशिक्षक सहितको सहभागितामा प्रशिक्षण सुरु हुन लागेको हो ।

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्