मतदानस्थल र मतदाता नामावलीको विवरण केही दिनभित्रै सार्वजनिक हुने
काठमाडौं, चैत्र ३०
निर्वाचन आयोगले मतदानस्थल र मतदाता नामावलीको विवरण केही दिनभित्रै वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ । सबै जिल्लाबाट मतदानस्थलको सिफारिस भैसकेकाले त्यसलाई अन्तिम रुप दिने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मंगलबार सिरहा र सप्तरीबाट समेत निर्वाचनस्थलको सङ्ख्या यकिन भएर आएको हो ।
आयोगका अनुसार सिरहामा दुई सय १८ र सप्तरीमा दुई सय ९२ मतदानस्थल रहने छन् । केही दिनअघि मात्रै धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा र पर्साको मतदानस्थलको विवरण आयोगलाई प्राप्त भएको थियो । स्थानीय राजनीतिक दल सम्मिलित जिल्ला समन्वय समितिको सिफारिसमा मतदानस्थल निश्चित गरी जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा विवरण उपलब्ध गराउने व्यवस्था रहेको छ ।
मतदाता संख्याको आधारमा केन्द्र निर्धारण गर्नेगरी अन्तिम विवरण तयार पार्ने काम भइरहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता नामावली र केन्द्रको विवरण एकैपटक आयोगको वेवसाइटमा राख्ने तयारी छ ।
आयोगले शुक्रबार वैशाख १ गतेदेखि नै मतदाता शिक्षा सञ्चालन गर्ने तयारी समेत गरेको छ । यस्तै स्थानीय चुनावका लागि चीनले सहयोगस्वरुप पठाएका सागम्री आयोगमा आउन थालेको छ ।
मंगलबार केही सामग्री आयोगमा आइपुगेको शर्माले बताउनुभयो । चीनले ३० हजार मतपेटिका सहितका सामग्री पठाएको छ ।
प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार