केरूङमा रोकिएको मतपेटिका लिन नेपाली टोली आज केरूङ जाने


 


रसुवा, चैत्र २९
चीनको केरूङमा ११ दिनदेखि रोकिएको १० हजार थान मतपेटिका लिन नेपाली टोली मंगलबार त्यसतर्फ जाने भएको छ । रसुवागढि भन्सार कार्यालयका अनुसार चीनको ठोङ्सामा झरेको पहिरो पन्छाउने कार्य सकिएकाले मतपेटिका लिनका लागि व्यवसायी मंगलबार केरूङ जान लागेका हुन् ।

आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि चीनबाट ल्याइँदै गरेको १० हजार थान मतपेटिका चीनको केरूङ स्थित ठोङ्सामा झरेको पहिरोको कारण सडक अवरुद्ध भएपछि केरूङमा नै राखिएको थियो । भन्सार प्रमुख केदार पनेरुका अनुसार व्यवसायी मंगलबार गएर लोड गर्नुपर्ने र चिनियाँ भन्सारमा जाँचपास गर्न समय लाग्ने भएकाले मतपेटिका बुधबार आइपुग्ने सम्भावना रहेको छ ।

चुनावका लागि चीनबाट ल्याउन लागिएका ३० हजार थान मतपेटिका मध्ये पहिलो चरणमा १० हजार थान मतपेटिका ल्याउन लागिएको हो ।

प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्