किंग्स इलाभेन पञ्जाबद्धारा लगातार दोस्रो जित दर्ता


 


काठमाण्डौ, चैत्र २९

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार राति इन्दौरमा भएको खेलमा पञ्जाबले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले हराएको हो ।

बैंग्लोरले प्रस्तुत गरेको एक सय ४९ रनको लक्ष्य पञ्जाबले १४ दशमलव तीन ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि हशिम अमलाले नटआउट ५८, कप्तान ग्लेन म्याक्सवेलले नटआउट ४३ तथा मनन वोहराले ३४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले एबिडी भिल्लियर्सको नटआउट ८९ रनको मद्दतमा ४ विकेटको क्षतिमा एक सय ४८ रन बनायो ।  मन्दिप सिंहले २८ तथा स्टुआर्ट बिन्नीले नटआउट १८ रन बनाए पनि अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पञ्जाबका वरुण आरोनले दुई विकेट लिए । लगातार दुई खेल जितेको पञ्जाब चार अंकसहित दोस्रो स्थानमा छ । तीन खेलमा एक खेल मात्रै जितेको बैंग्लोर दुई अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्