सरकारको नयाँ प्रस्तावबारे परामर्श गरिएको छैनः एमाले


 


काठमाडौँ, चैत्र २८

नेकपा (एमाले)को आज बसेको स्थायी कमिटी बैठकले संविधान संशोधनमा सरकारले ल्याउन लागेको नयाँ प्रस्तावबारे आफूहरुसँग कुनै परामर्श नगरिएकाले त्यसलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

पार्टीका कावा अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तह निर्वाचन र संविधानविपरीत एवम् राष्ट्रिय हित र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने कुनै पनि प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने निर्णय गरेको एमालेले जनाएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयक फिर्ता लिई प्रमुख प्रतिपक्षी एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमत हुने गरी नयाँ संशोधन प्रस्ताव प्रस्तुत गर्ने सार्वजनिक अभिव्यक्ति दिनुभएकामा एमाले बैठकले सरकारले भनेजस्तो आफ्नो पार्टीसँग कुनै सहमति नभएको स्पष्ट गरेको छ ।

बैठकले एमालेको काठमाडौँ जिल्ला कमिटीमा उत्पन्न विवाद मिलाउन कावा अध्यक्ष गौतमको संयोजकत्वमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल रहेको कार्यदललाई जिम्मेवारी दिएको छ ।

स्थानीय निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न आउँदो वैशाख ३ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्