तरकारीको मूल्य घट्यो, चिनीको बढ्यो


 


काठमाडाैं, चैत्र २७

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १०.३ प्रतिशत रहेको थियो ।

सो समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घ्यु तथा तेलको मूल्यमा ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.१ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य भने १०.७ प्रतिशतले वृद्धि भएको छ ।

पहाडमा मूल्य बढ्यो

बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सहरी क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत र काठमाडौँ उपत्यकामा १.९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत र काठमाडौँ उपत्यकामा १२.७ प्रतिशत रहेको थियो ।

वैदेशिक लगानी बढ्यो

चालु आवको आठ महिनामा मुलुकमा वैदेशिक लगानी चार गुणाले बढेको छ । आज सार्वजनिक भएको मुलुकको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनमा रु आठ अर्ब ३५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

गत आवको सोही अवधिमा जम्मा रु दुई अर्ब ३४ करोड मात्रै वैदेशिक लगानी भित्रिएको थियो । जलविद्युत्, होटल लगायतका क्षेत्रमा लगानी थपिएपछि वैैदेशिक लगानी गुणात्मकरुपमा बढेको हो । रासस

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्