भात खाने बानीले नेपाल परनिर्भर बन्दै


 


रमेश लम्साल
काठमाडौँ, चैत्र २७
नेपालीलाई भात नै खानुपर्ने बानीका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । मुलुकका धान खेत बाँझो छन्, दैनिक एकहजार ५०० नेपाली वैदेशिक रोजगारीका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिइरहेका छन् ।

युवा नहुँदा बर्सेनि उत्पादकत्व घट्दै गएको छ जसका कारण नेपाल प्रतिदिन परनिर्भर बन्दै गएको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कअनुसार नेपालीको भात खाने बानीका कारण रु १६ अर्ब २१ करोड बराबरको चामल आयात भएको छ ।

भात खाने बानीले नेपालीलाई परनिर्भर बढाउँदै लगेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा भात खानका लागि मात्र रु १६ अर्ब २१ करोडको चामल भारतबाट आएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा रु १३ अर्ब ४३ करोडको चामल आयात भएको थियो । बैंकका अनुसार गत आठ महिनामा भारतबाट मात्रै रु सात अर्ब ८८ करोडको तरकारी आएको छ ।

यस्तै, फलफूल मात्र भारतबाट आठ महिनामा रु तीन अर्ब ३७ करोडको आयात भएको बैंकले जनाएको छ । बैंकका अनुसार सो अवधिमा नेपालबाट वस्तु आयातका लागि रु छ खर्ब २८ अर्ब रकम बाहिरिएको छ ।

तर निर्यातबाट रु ४८ अर्ब मात्र भित्रिएको छ । चालु आवको आठ महिनामा रु ५५ अर्ब ७२ करोड मुल्यको गाडी आयात भएको छ ।

आयात अत्यधिक बढेका कारण व्यापार घाटा रु पाँच खर्ब ८० अर्ब पुगेको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्