धनगढी प्रिमियर लिग आजदेखि सुरु हुँदै


 


काठमाडौं, चैत्र २७

धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आज आइतबार देखि सुरु हुँदैछ ।क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल एघारले आयोजकको टोली धनगढी ११ सँग च्यारिटी खेल खेल्नेछ ।

यो खेलबाट उठेको पैसा धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलहरु भने सोमबारदेखि हुनेछन् । सोमबार हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको सिवाइसी अत्तरिया र बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्स् भिड्नेछन् ।

सोमबार नैं शक्ति गौचन नेतृत्वको रुपेन्देही च्यालेन्जर्स् र विनोद भण्डारी नेतृत्वको कञ्चनपुर आइकोनिक आमनेसामने हुने छन् । प्रतियोगितामा यी चार टोलीसँगै शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स् र पारस खड्का नेतृत्वको टिम चौराहा धनगढी पनि सहभागि छन् ।

ट्वेन्टी ट्वेन्टी ढाँचामा सञ्चालन हुने प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख ४ गते सकिनेछ भने त्यसपछि प्ले अफका खेलहरु सुरु हुनेछन् । प्रतियोगिताको फाईनल खेल बैशाख ९ गते हुनेछ ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्