‘अमेरिकाले सिरियामा गरेको आक्रमणपछि आतंकवादीले उत्सव मनाए’


 


एजेन्सी,  चैत्र २७

ईरानका राष्ट्रपति हसन रुहानीले सिरियाको हवाई अड्डामा अमेरिकाले गरेको आक्रमणबाट आतंकवादीले उत्सव मनाएको बताएका छन् । इरानको सरकारी टेलिभिजनमा बोल्दै रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिई अमेरिकाको नेतृत्व गर्ने व्यक्तिले आतंकवादसंग लड्ने दाबी गरेपनि सिरियामा आक्रमण गरेर उनीहरुलाई नै किन सहयोग गरेको भन्ने प्रश्न गरे ।

अमेरिकी पहिलो कदमबाटै आतंकवादीलाई समर्थन गरेको देखिएको ईरानी राष्ट्रपतिको जिकिर थियो । अमेरिका समर्थित सिरियाली विद्रोहीलाई इरानले आतंकवादी समुह मान्दै आएको छ । रुस र इरान सिरियाली राष्ट्रपति बशर अल असादको पक्षमा छन् । अमेरिकाले शुक्रवार गरेको मिसाइल आक्रमणका कारण पाच जनाको मृत्यु भएको थियो ।

सिरियामा विद्रोही नियन्त्रित खान शेखौन शहरमा सिरियाली सरकारी सेनाले संदिग्ध रासायनिक आक्रमण गरेको जवाफमा अमेरिकाले उसको हवाई अड्डा लक्षित गरि आक्रमण गरेको जनाएको छ । आक्रमणमा परि कम्तिमा ८९ जनाको मृत्यु भएको छ । तर सिरियाले भने रासायनिक आक्रमण गरेको अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्