भोजपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धमाधम हुँदै


 


दिंला, (भोजपुर) चैत्र २६
सातौं राष्ट्रब्यापी रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता २०७३ अन्तरगतका विभिन्न खेल यहाँ सम्पन्न भएका छन् ।

राष्ट्रब्यापी रुपमा आयोजना भईरहेको यो प्रतियोगिताको एक अंगको रुपमा भोजपुर निर्वाचन क्षेत्र नं. १ अन्तरगत सहभागी विभिन्न १० वटा माध्यमिक बिध्यालयबिच खेलाईएको खेलमा महेन्द्रोदय माबि, देउराली प्रथम भएको छ।

अरुण माबि, दिंलाले दोश्रो स्थान हाँसिल गर्यो भने खार्ताम्छा माबि, खार्ताम्छा तेश्रो भयो। प्रमुख रेफ्री तथा जिल्ला खेलकुद ब्यवस्थापक बिज्ञान अधिकारीका अनुसार पुरुष भलिबलको उपाधी महेन्द्रोदय माबि, बोयाले चुम्यो भने महिला भलिबलको शिल्ड खार्ताम्छा माबि, खार्ताम्छाले हात पार्यो।

औपचारिक खेल सुरु गरिनुपूर्व षडानन्द उच्च माविको प्रांगणमा एक समारोहको आयोजना गरि प्रतियोगिताको उद्घाटन गरिएको थियो।

प्रमुख अतिथि नेकपा(एमाले) केन्द्रीय कमिटी सदस्य राजेन्द्र राईले पानसमा दियो बाल्दै समारोहको उद्घाटन गरेका थिए। समारोहलाई सम्बोधन गर्दै उनले स्वस्थ खानपिन, प्राथमिक उपचारको ज्ञान र नियमित शारीरिक अभ्यासले खेलाडी दक्ष र बिजयी बन्न सक्ने कुरा बताए।

खेलाडीले जितेर मात्रै नभै रोमाञ्चक खेल कौशल प्रदर्शन गरि दर्शकको मन जित्न उनले शुभकामना दिएका थिए। उद्घाटन समारोहलाई तरुण दलका केन्द्रिय उपाध्यक्ष उत्तम चापागाईं, पूर्बमंत्री मुकुन्द बहादुर बस्नेत लगायतका बक्ताले पनि सम्बोधन गरेका थिए।

दुबै निर्वाचन क्षेत्रबाट छानिएर आएका टिमबिचको प्रतिस्पर्धा भोजपुर सदरमुकाममा २८ गतेबाट शुरु हुनेछ भने विजयी टिम पूर्ब क्षेत्रमा २०७४ बैशाख २ गते खेल्न जानेछ। राष्ट्रिय प्रतियोगिता बैशाख ६ गते काठमाडौंमा हुँदैछ।

प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्