आर्मीलाई हराउँदै माइभ्याली गोल्डकपकाे उपाधि झापा ११ ले जित्यो


 


इलाम, चैत २६

झापा ११ ले तेस्रो माइभ्याली गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा विभागीय टिम नेपाल आर्मीलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापा ११ ले उपाधि उचालेको हो ।

निर्धारित र त्यसपछि थपिएको अतिरिक्त सयममा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । झापाले उपाधिसहित ४ लाख रुपैयाँ पाएको छ । उपविजेता नेपाल आर्मीले भने साढे २ लाख रुपैयाँ पाएको छ ।

झापा ११ ले गएको वर्ष पनि उपाधि जितेको थियो । आर्मीले नेपाल पुलिस क्लब र झापाले एपिएफलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

झापाले यस वर्ष काँकडभिट्टा गोल्डकपको उपाधि पनि जितेको थियो । आर्मीले यसवर्ष सिमरा गोल्डकप, दुहवी गोल्डकप र हेटौंडा गोल्डकप जिते पनि माइभ्याली गोल्डकपमा भने जित निकाल्न सकेन ।

आर्मीले यस सिजनमा आहा गोल्डकपको क्वाटरफाइनलमा झापालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्