अमेरिकाद्वारा सिरियामाथि थप आक्रमण गर्ने चेतावनी


 


काठमाण्डौ, चैत्र २६

अमेरिकाले सिरियालाई थप आक्रमण हुनसक्ने चेतावनी दिएको छ । रासायनिक आक्रमणको आशंकामा सिरियाका सैन्य अड्डामा आक्रमण गरेलगत्तै अमेरिकाले थप आक्रमण हुन सक्ने चेतावनी सिरियालाई दिएको हो ।

अमेरिकाले सिरियाको केही इलाकामा शुक्रबार मिसाइल आक्रमण गरेको थियो । गएको मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने भन्दै अमेरिकाले मिसाइल आक्रमण गरेको हो । मंगलबार भएको रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरैले ज्यान गुमाएका थिए ।

अमेरिकी आक्रमणपछि रुस भने रुष्ट भएको छ । अमेरिकी आक्रमणपछि रुसले सिरियाली वायू सेनाको क्षमता बढाउने घोषणा गर्दै सिरियामा हवाइ आक्रमण रोक्ने सम्बन्धि अमेरिकासंगको सम्झौता रद्द गरिदिएको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निकी हाले ले रासायनिक हतियारको प्रयोग हुने अवस्थालाई आफ्नो देशले सहन नसक्ने भन्दै सिरियामा थप हमला हुनसक्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्