निगमले दुई वाइडबडी विमान खरिद गर्ने


 


काठमाडौँ, चैत्र २५

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ए ३३०–२०० विमान खरिद गर्ने भएको छ । उक्त विमान खरिदका लागि निगम र अमेरिकन कम्पनी एएआरबीच आज खरिद सम्झौता भएको छ ।

निगमकातर्फबाट महाप्रबन्धक सुगतरत्न कंशाकार र एएआरका प्रमुख दीपक शर्माले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार दुवै विमान सन् २०१८ को ‘अप्रिल’ र ‘मे’ भित्र आइसक्ने महाप्रबन्धक कंशाकाकरले जानकारी दिनुभयो ।

दुवै विमान २०९ दशमलव ६ मिलियन अमेरिकन डलर (करिब २२ अर्ब रूपैयाँ) मा खरिद गर्ने गरी सम्झौता भएकोे छ । नेपालको उड्डयन इतिहासमा यति ठूलो रकम खर्चैर एकै पटक विमान खरिद गरेको पहिलो पटक भएको महाप्रबन्धक कंशाकारले बताउनुभयो ।

अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज सहरमा छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा विजनेस क्लासका सिट हुनेछन् ।

दुई जहाज थपिएसँगै पाँचवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान भर्नेछ, अहिले निगमसँग एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत विभिन्न आठ गन्तव्यमा अडान भरिरहेको छ ।

महाप्रबन्धक कंसाकारका अनुसार नयाँ विमान लामो ‘रेन्ज’ को छ, जुन नेपालदेखि सिधा बेलायतको लण्डनसम्म निरन्तर उडान गर्न सकिन्छ । यसबाट श्रीलङ्का, म्यानमार, जापन, दक्षिण कोरिया, अष्ट्रेलिया, साउदी अरेबीयालगायत गन्तव्यमा उडान भर्नुका साथै हाल भएकै गन्तव्यमा थप उडान थप्ने निगमको योजना छ ।

प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्