मतपेटिका केरुङ आइपुग्यो


 


काठमाडौं ,चैत्र २५

वैशाख ३१ का लागि तय भएको स्थानीय निकाय निर्वाचनका लागि चीनबाट खरिद गरिएका मतपेटिका केरुङ आइपुगेका छन् । नेपाल–चीनबीच सञ्चालनमा रहेको एक मात्र नाका हुँदै आवश्यक मतपेटिका नेपाल भित्रन लागेका हुन् ।

सुवागढी नाका हुँदै आउन लागेको मत पेटिका रसुवागढीमा भन्सार प्रक्रिया मिलाउन दुई सातादेखि केरुङमै थन्किएको छ । मतपेटिका सप्लायर्स कम्पनी र रसुवागढी भन्सारबीच भन्सार छुटलगायतका विषमा मतभेद रहेका कारण मतपेटिका नेपाल भित्रन नसकेको हो । यस सम्बन्धमा वाणिज्य मन्त्रालयका टोलीसँग कुराकानी भइरहेको छ ।

मतपेटिका सप्लायर्स कम्पनीले एक प्रतिशत मात्र भन्सार तिर्ने दाबी गरिरहेको र रसुवागढी भन्सारले नियमअनुसार अन्य सामानसरह भन्सार तिर्नुपर्ने अडान लिएको छ । सप्लायर्सले बैशाख पहिलो साता निर्वाचन आयागलाई मतपेटिका बुझाइसक्नुपर्ने छ । केरुङ ल्याइएका मतपेटिका १० करोड रुपैयाँबराबरका छन् ।

एउटा मतपेटिकाको मूल्य तीन हजार तीन सय रुपैयाँ पर्ने आयोगले जनाएको छ । स्थानीय निकाय निर्वाचनका लागि ८२ हजार थान मतपेटिका आवश्यक भएको र ६० हजार भने पुरानै मतपेटिका रहेको निर्वाचन आयोगका प्रवक्त सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । निर्वाचन आयोगले नेपाली सप्लायर्स मार्फत खरिद गरेको मतपेटिका दर्जनौं ट्रकमा चीनको ग्वाङझाउओबाट सिगात्से हुँदै चीनको केरुङ आइपुगेको हो ।

प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्