विमलेन्द्र निधि राजिनामा दिँदै, अब काे बन्छ गृहमन्त्री ?


 


काठमाडाैं, चैत्र २५

प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम् बनाउने भएपछि उपप्रधान समेत रहेका गृहमन्त्री विमलेन्द्र निधि राजिनामा दिने भएका छन् ।

प्रधानमन्त्री दाहालले थापालार्इ दाेस्राे बरियता दिने संकेत पाएपछि आक्रोशित बनेका विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारी छन् ।

बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषदमा बस्न नहुने निजी फैसला सुनाएका थिए ।

करिब नौ महिनापहिले मन्त्रिपरिषद् गठन भएयता प्रधानमन्त्री दाहालको अनुपस्थितिमा दुईपटक मन्त्रिपरिषद्को अध्यक्षता गरेको भए पनि एक महिनाअघि मन्त्रिपरिषदमा सामेल भएका राप्रपा नेता कमल थापा निधिभन्दा वरिष्ठ भएको आधारमा उनलाई दोस्रो हैसियतको वचन प्रधानमन्त्रीले दिएको बुझिएको छ ।

तर, निधिसँगको बैठकमा सामेल मन्त्रीहरु र पार्टी सभापति शेरबहादुर देउवाले समेत निधिको दावीलाई प्रतिष्ठाको विषय बनाउन तयार नभएपछि निधि एक्लिएका हुन् ।

निधिको बदलामा कांग्रेसबाट गोपालमान श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीका रुपमा ल्याउने तयारी भएको बुझिएको छ । यसैबिच लामाे समयसम्म देेउवालार्इ साथ दिएका निधिले अन्तिममा देउवाकाे नै साथ नपाएपछि गुट समेत परिवर्तन गर्ने तयारीमा जुटेका छन् ।

निधि अब सिटाैला गुटसँग मिलेर अघि बढ्ने मनस्थितिमा पुगेकाे बुझिएकाे छ । यिनै निधि हुन् जसले केपी अाेली सरकार ढालेर अहिलेकाे सत्ता समिकरण बनाएका थिए ।

निधिलार्इ देउवाले साथ नदिएकाे भन्दै कांग्रेसजनहरूले सभापति देउवाकाे विराेधमा उत्रिएका छन् । उनिहरू हामी निधिसँगै छाैं भनेर सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।

पछिल्लाे समय भारतलार्इ देखाउँदै पार्टी सभापतिसँग बार्गेनिङ गर्न थालेपछि देउवा क्याम्पबाट निधिलार्इ हटाउने खेल सुरू भएकाे कांग्रेसी नेताहरू सुनाउँछन् ।

प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्