मेलम्चीको पानी आउने समय लम्बिने


 


काठमाडौँ , चैत्र २४

काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने समय लम्बिने भएको छ । २०७४ असोजमा नै ग्राहकका धारामा मेलम्चीको पानी आउने लक्ष्य निर्धारण गरिएको भए पनि सुरुङ निर्माण तथा पाइप लाइन बिछ्याउने काममा भएको ढिलाइका कारण दुई महिना समय लम्बिने आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार मङ्सिरको पहिलो साताबाट मात्रै काठमाडौँ उपत्यकामा ग्राहकका धारामा पानी आउनेछ ।काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी ल्याउन आवश्यक २७ किलोमिटर सुरुङ तथा मुहानमध्ये अहिलेसम्म २३ किलोमिटर निर्माण भएको छ ।

त्यस्तै उपत्यकाभित्र ठूला पाइप ६१ किलोमिटर बिछ्याउनुपर्नेमा हालसम्म ४३ किलोमिटर मात्र बिछ्याउने काम सकिएको छ । त्यसैगरी ६७० किलोमिटर वितरण पाइप बिछ्याउनुपर्नेमा हालसम्म ५६१ किलोमिटर बिछ्याइएको छ । मेलम्ची खानेपानी आयोजना अन्तर्गत उपत्यकाका चक्रपथभित्रका क्षेत्रमा ८६ हजार धारा जडान गर्नुपर्नेमा हालसम्म ३७ हजार धारा जडान भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले जानकारी दिए ।

प्रकाशित मिति: २४ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्