सुरक्षा परिषद बैठकमा सिरियाबारे शक्ति राष्ट्रहरुबीच आरोप–प्रत्यारोप


 


एजेन्सी, चैत्र २४

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा सिरियामा लगातार आम मानिस मारिइरहेको बारेमा छलफल भएको छ । छलफलमा शक्ति राष्ट्रहरुले आ–आफ्नै दलील पेश गरेका छन् । अमेरिकालगायत राष्ट्रले सिरियाली राष्ट्रपति बशर अल असदको तानाशाही सीमाभन्दा बाहिर पुगेकाले लगाम लगाउनुपर्नेमा जोड दिएका छन् । रुस भने सिरियाको पक्षमा ढाल बनेर उभिएको छ ।

बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरिया सरकारमाथि नियन्त्रण नगरेकामा रुसको आलोचना गर्दै असदको बर्बरता अन्त्य हुन अरु कति बालबालिका मारिनुपर्ने हो भन्दै प्रश्न गरिन् । संयुक्त राष्ट्रसंघ यस मामलामा एकजुट नहुने हो भने अमेरिका एक्लैले उपयुक्त कदम चाल्ने चेतावनी पनि राजदूत हेलीले दिइन् ।

रुस असदको पक्षमा उभिएकाले राष्ट्रसंघका यस्ता छलफल पटक पटक अनिर्णित बन्ने गरेका छन् । रुसले भने असदको सत्ताले रासायनिक आक्रमण गरेको भन्ने प्रचार गलत भएको भन्दै सिरिया सरकारको बचाउ गरेको छ ।

विद्रोहीले रासायनिक हतियार राखेको ठाउँमा हवाई आक्रमण गर्दा उक्त ग्यास लीक भएको तर्क रुसको छ । मंगलबार मात्र सिरियामा २० बालबालिका र ५२ जना अरु बयस्क मारिएका थिए । उपचारस्थलमासमेत आक्रमण गरिएको आरोप लगाइएको छ ।

अमेरिका, फ्रान्स र बेलायतले रासायनिक हतियार प्रयोग गरिएको बारेमा अनुसन्धान गर्न राष्ट्रसंघमा प्रस्ताव नै पेश गरेका छन् । ६ वर्षदेखि चलिरहेको गृहयुद्धमा सिरियामा साँढे दुई लाखभन्दा बढी मानिस मारिइसकेका छन् भने लाखौं मानिस देश छाडेर पलायन भएका छन् ।

प्रकाशित मिति: २४ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्