फोरम लोकतान्त्रिक र जनमुक्ति पार्टी विच एकीकरण हुँदै
काठमाडौं, चैत्र २३
विजय कुमार गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी नेपाल विच आज एकीकरण हुने भएको छ । स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा संसद भित्रका यी दुइ पार्टीको एकता हुन लागेको हो । आज दिउसो १ बजे फोरम लोकतान्त्रिकको कार्यालय सुविधानगरमा पार्टी एकीकरणको घोषणा गरिने बताइएको छ ।
संसद भित्रका तथा बाहिरका दलसँग एकीकरण प्रयास जारी रहेकै बेला पहिलो चरण यी दुइ पार्टी विच एकीकरण हुन लागेको फोरम लोकतान्त्रिकका वरिष्ठ नेता रामजनम चौधरीले जानकारी दिए । एकीकरण पछिको अध्यक्षमा गच्छादार र वरिष्ठ उपाध्यक्ष थापा हुने बताइएको छ । यस्तै एकता पछि फोरम लोकतान्त्रिकका एक सय ३५ केन्द्रिय सदस्य सहित १ सय ७१ केन्द्रिय सदस्यीय केन्द्रिय समिति हुने छ ।
संसद भित्र १४ सिट रहेको फोरम लोकतान्त्रिकसँग २ सिट भएको जनमुक्ति पार्टी विच एकीकरण भए पछि १६ सिट हुने छ । एकीकरण पछि भने पार्टीको नाम परिवर्तन गर्ने सर्त जनमुक्तिले राखेको छ । एकता पछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम रहने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार