जबर्जस्ती निर्वाचनले मुलुकमा द्वन्द्वको विजारोपण गर्छ- महतो


 


भैरहवा , चैत्र २२

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताएका छन् । सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरुलाई स्वीकार्य नहुने बताए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका  अध्यक्ष महतोले प्रमुख तीन दलको हठका कारण मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको उल्लेख गर्दै मधेसी, आदिवासी जनजाति र उत्पीडित समुदायको माग पूरा नहुँदासम्म मोर्चा निर्वाचनमा सहभागी नहुने बताए ।

महतोले मोर्चाले उठाएका सबै माग समेटेर संविधान संशोधन गरिए निर्वाचनमा जाने वातावरण बन्छ भन्दै निर्वाचनमा जाने वातावरण भए मोर्चामा आबद्ध दलहरु एकढिक्का भएर सहभागी हुने विश्वास व्यक्त गरे ।

जनसङ्ख्याका आधारमा गाउँपालिका बनाउनुपर्ने र मधेस अझै पनि आन्दोलनमा नै रहेकाले छुटेका नागरिकलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्