एनसेलबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने


 


काठमाण्डौ, चैत्र २२
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई जानकारी दिने भएका छन ।

समितिको आगामि चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए ।  सभापति उपाध्यायले समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको पूँजीगत लाभकरका विषयमा प्रधानमन्त्रीसँग नै जानकारी लिने निर्णय भएअनुसार मिति तय गरिएको हो ।

एनसेलको पुँजीगत लाभकरका विषयमा परस्पर विरोधी विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानमन्त्रीको जवाफ मागेको थियो । स्वीडेनको टेलिया सोनेरा कम्पनीले सरकारलाई पूँजीगत लाभकर नतिरी मलेसियन कम्पनी एक्जियाटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो ।

कम्पनीका नेपाली साझेदारले रु १० अर्ब पूँजीगत लाभकर तिरेपनि टेलियाले भने रु ४३ अर्ब पुँजीगत लाभकर हालसम्म तिर्न अस्वीकार गर्दै आएको छ । उता अर्थ मन्त्रालयले लाभकरका विषयमा भइरहेको प्रगतिका बारेमा जानकारी गराउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ । अर्थसचिव शान्तराज सुवेदीले विभागका महानिर्देशक चूडामणि शर्मालाई सो निर्देशन दिएका हुन ।

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्