नाडाललाई हराएर फेडेररले जिते उपाधि


 


काठमाण्डौ, चैत्र २१

पाँचौं मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररले जितेका छन् । फाइनलमा चिर प्रतिद्वन्द्वी राफेल नाडाललाई हराएर फेडेररले उपाधि उचालेका हुन् । विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका राफेल नाडाललाई ६–३ र ६–४ को सेटमा हराएर उपाधि उचालेका हुन् । स्वीस फेडेररले निक किरिओसलाई ७–६, ६–७ र ७–६ को सेटमा हराएर फाइनलमा स्थान बनाएका थिए ।

यस्तै सातौं बरियताका स्पेनिस नाडालले सेमिफाइनलमा ४० औं बरियताका फाबियो फोग्निनीलाई ६–१ र ७–५ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका थिए । मायामी ओपनको फाइनल भेट फेडेरर र नाडालबिचको ३७ औं भेट थियो । फेडेररले गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए ।

मायामी ओपनको उपाधि तेश्रोपटक जितेका फेडेररले यसले आफूलाई फ्रेन्च ओपनमा राम्रो प्रदर्शन गर्ने हौसला मिलेको बताए । घुँडाको चोटका कारण लामो समय कोर्टमा नदेखिएका ३५ वर्षे फेडेरर मायामी ओपनको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि भएका छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्