आजदेखि मतदाता नामावली छापिने


 


काठमाडौँ, चैत्र २०

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आइतबारदेखि मतदाता नामावली मुद्रण गर्ने भएको छ । निर्वाचनमा खटिने चारवटै सुरक्षा निकायका अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन र सुरक्षा विषयक प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आज सो कुराको जानकारी दिनुभएको हो ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा करिब एक करोड ४० लाख मतदाताको नाम सङ्कलन भएको आयोगले जनाएको छ ।

मतदाता नामावलीको सूचि आगामी वैशाख १० गतेभित्र सबै जिल्लामा पु¥याइसक्ने गरी आयोगले काम गर्ने जनाइएको छ ।

त्यस्तै, अबको एक दुईदिनभित्रै स्थानीय निकायको निर्वाचनमा खटिने ७५ जना मुख्य निर्वाचन अधिकृत र ६६९ जना निर्वाचन अधिकृत नियुक्त हुने जनाइएको छ ।

प्रमुख आयुक्त डा यादवले आयोग निर्वाचनको पूर्ण तयारीमा रहेको छ, जनशक्ति तथा सुरक्षाको व्यवस्थापन, आवश्यक सामग्री जुटाउने र प्रशिक्षण दिने काम आयोगले गरिरहेको बताउनुभयो ।

सबैले आफ्नो सीमामा रहेर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहयोग पु¥याउन आग्रह गर्दै उहाँले निर्वाचनको सन्दर्भमा अहिले ज्यादै उत्साहजनक वातावरण बनेको छ भन्नुभयो ।

निर्वाचनका प्रमुख खेलाडी राजनीतिक दललाई अहिले देखिएको असमझदारीलाई सहमतिमा परिणत गर्न आपसी सहयोग र सद्भावका साथ जुट्न उहाँले सो अवसरमा आग्रहसमेत गर्नुभयो ।

आयुक्त सुधीरकुमार शाहले आगामी निर्वाचनमा मतदाता, उम्मेदवार, खटिने कर्मचारी र मतगणनास्थलसम्मका लागि कम्तीमा पनि सुरक्षाको मनोवैज्ञानिक वातावरण तयार गर्न सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिलाई निर्देशन दिनुभयो ।

स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनेमा सुरक्षा निकायको समेत उच्च मनोबल देखिएकाले राजनीतिक दलहरुबीचको सहमतिको गाँठो नफुके पनि तोकिएको मितिमा एकैदिन एकै चरणमा मतदान गराएर आयोगले आफ्नो विश्वसनीयता कायम राख्न सक्षम हुने उहाँले दाबी गर्नुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचनमा सुरक्षाको जिम्मेवारी पूरा गर्न प्रशिक्षणबाट सुरक्षा संयन्त्रबीचमा साझा धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले निर्वाचनमा सुरक्षामा खटिने सुरक्षाकर्मीलाई एकीकृत धारणा बनाउन प्रशिक्षणबाट ठूलो योगदान मिलेको धारणा व्यक्त गर्नुभयो ।

आयोगका सहसचिव नवराज ढकालले स्थानीय निकायको निर्वाचनसँग जोडेर आयोगले निर्वाचन–सञ्चार, मतदाता प्रशिक्षण, जिन्सी व्यवस्थापन, निर्वाचन र सुरक्षाजस्ता केन्द्रीयस्तरका प्रशिक्षण गरिसकेको बताउनुभयो ।

निर्वाचनका लागि आवश्यक पर्ने ६७ प्रकारका सामग्री ल्याउने काम भइरहेको बताउँदै उहाँले निर्वाचनका लागि एकलाख २६ हजार कर्मचारी परिचालन हुने जानकारी दिनुभयो ।

आयोगले मतदाता शिक्षाका लागि २१ हजार स्वयम्सेवी खटाउने जानकारी पनि गराइसकेको छ । रासस

प्रकाशित मिति: २० चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्