इमर्जिङ टिम्स एसिया कप – नेपालले टस जित्यो


 


 

काठमाण्डौ, चैत्र १७

इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले अहिले हङकङसँग खेली रहेको छ । कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले हङकङले ब्याटिङ गरिरहेको छ । यसअघिका दुवै खेल गुमाएको नेपालका लागि हङकङसँगको खेलमा प्रतिष्ठाका लागि मात्रै हो ।

पहिलो खेलमा पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो । एक दिवसीय खेलमा नेपाल र हङकङको यो दशौं भेट हो ।

यसअघिका ९ खेलमा नेपालले ५ खेल जितेको छ भने चार खेलमा पराजित भएको थियो । हङकङसँग पछिल्लो पटक सन् २०१४ मा एसिसी प्रिमियर लिगमा भेट हुँदा नेपाल डकबर्थ लुइस नियमका आधारमा ७ विकेटले विजयी भएको थियो ।

एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

प्रकाशित मिति: १७ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्