अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित


 


काठमाण्डौ, चैत्र १६

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित भएको छ । कप्तान क्रिष्टियानो रोनाल्डोको जन्म शहर माडेइरामा मंगलबार राति भएको खेलमा पहिलो हाफमा २–० को अग्रता लिएर पनि पोर्चुगल स्वीडेनसँग ३–२ ले पराजित भएको हो । १८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।

३४ औं मिनेटमा स्वीडेनका ग्रानक्भिस्टले आत्मघाती गोल गरेपछि पहिलो हाफमा पोर्चुगलले २–० को अग्रता लियो । तर दोस्रो हाफमा स्वीडेनले तीन गोल गर्‍यो र नतिजा आफ्नो पक्षमा पार्‍यो ।  भिक्टर क्लेसनले ५७ र ७६ औं मिनेटमा गरी स्वीडेनका लागि दुई गोल गर्दै खेल बराबरीमा ल्याए ।

इन्जुरी समयमा पोर्चुगलका काभाको क्यानसेलोले आत्मघाती गोल गरेपछि स्वीडेन ३–२ ले विजयी भयो । रोनाल्डोको सम्मानमा स्थानीय विमानस्थलको नाम उनको नामबाट राखिने एक दिन पहिले भएको खेलमा पोर्चुगल पराजित भएको हो । बुधबार हुने विमानस्थलको नाम घोषणा सभामा रोनाल्डो उपस्थित हुनेछन् ।

यस्तै राति नै भएको खेलमा इटालीले नेदरल्याण्डसलाई २–१ ले हरायो । अरु खेलमा जर्जियाले लात्भियालाई ५–०, बोसनिया हर्जगोभिनाले अल्बानियालाई २–१, इजिप्टले टोगो, इस्टोनियाले क्रोएसिया तथा मेसेडोनियाले बेलारुसलाई समान ३–०, गिनीले क्यामरुनलाई २–१ तथा केप भेर्डे आइल्याण्डले लग्जेम्बर्गलाई २–० ले हरायो ।

अस्ट्रिया र फिनल्याण्डले १–१, दक्षिण अफ्रिका र अंगोलाले गोलरहित तथा रुस र बेल्जियमले ३–३ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्