नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घण्टा बन्द
काठमाण्डौ, चैत्र १५
नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दैनिक ६ घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु भएको छ । यसअघि दैनिक ४ घण्टा सवारी रोकेर काम गरिँदै आएको भए पनि स्तरोन्नतिको काम चाँडो सक्न भन्दै आजदेखि ६ घण्टा सवारी रोकेर काम गर्न थालिएको हो ।
यसरी दैनिक ६ घण्टा यातायात रोकेर काम गर्न थालेपछि दैनिक ४ घण्टा काम हुने छ । स्थानीय प्रशासनसँग समन्वय गरेर वर्षात् अगाडि नै सडकको भित्ता काट्नेलगायत महत्वपूर्ण संरचनाका काम सम्पन्न गर्न आवागमन समय थप रोकेर काम गर्न थालिएको आयोजनाले जनाएको छ ।
पहिलो सम्झौताअनुसार आगामी वैशाखको दोस्रो साताभित्र तीन वटै खण्डको काम सम्पन्न गर्नुपर्ने हुन्छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएकोमा हालसम्म ४१ प्रतिशत मात्रै काम भएको छ । भूकम्प, नाकाबन्दीलगायतका कारण देखाउँदै निर्माण कम्पनीले थप समय माग गरेपछि निर्माण सम्पन्न गर्नुपर्ने समय दुई पटक गरेर आठ महिनासम्म बढाइएको छ ।
प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार