उपचार खर्चको अभावमा मृत्यु कुर्दै युवा संघका जिल्ला अध्यक्ष शाही, परिवारद्धारा सहयोगको याचना


 


महेन्द्रनगर, चैत्र १४

कम्मरको बोन क्यान्सरबाट पीडित नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्य एवं युवा संघ नेपालका जिल्ला अध्यक्ष जनक शाहीलाई उपचार गर्न खर्चको अभाव भएको छ ।

हाल भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचाररत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका निवासी ३७ वर्षीय शाहीको कम्मरमा वोन क्यान्सर लागेपछि उपचार गर्न खर्चको अभाव भएको हो ।

उपचार गर्ने खर्च नभएपछि क्यान्सर पीडित शाहीका परिवारजन र आफन्तले सबैसंग सहयोगको अपिल गरेका छन् ।

शाहीको राजधानीस्थित ग्वार्काेमा रहेको बी एण्ड बी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा दायाँ कम्मरमा वोन क्यान्सर लागेको र उपचार गराउँदा पनि सञ्चो नभएपछि शल्यक्रिया गर्नुपर्ने भएकोले थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पताल लगिएको थियो ।

उपचारका लागि अस्पतालले सुरुमै २० लाख रुपैयाँ धरौटी राख्नुपर्ने भनेपछि शाही उपचार खर्चको अभावमा अस्पतालको बेडमा मृत्यु कुरिरहेका छन् । पैसा अभावकै कारण उनको शल्यक्रिया हुन सकिरहेको छैन् ।

अस्पतालले सुरुमै पैसा डिपोजिट गर्न भनेपछि आफूहरु निराश भएको परिवारजनले बताएका । अस्पतालले मागेको रकम घरबास नै बेचे पनि नपुग्ने भन्दै पीडितका आफन्त धर्म शाहीले भने– ‘जनकको जीवन रक्षाका लागि सबैसंग सहयोगको हात फैलाउँदै हिडेका छौं ।’

युवा संघ कञ्चनपुरका वर्तमान अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य शाही मालिका सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष पनि हुन् । उनी विभिन्न संघ संस्थामा आबद्ध रही सामाजिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएका छन् ।

झलारीमा सहयोग संकलन अभियान थालियो

यसैबीच शुक्लाफाटा नगरपालिकाका स्थानीय युवाहरुको भेलाले ‘जनक शाही बचाउ अभियान’ सुरु गरी आर्थिक सहयोग संकलन अभियान थालिएको छ ।

उनको उपचार खर्च जुटाउनका लागि झलारी स्थित गुडलक ईभेन्ट म्यानेज मेन्टका युवाहरुद्वारा पनि सहयोग संकलन अभियान सुरु गरिएको छ ।

गुडलक ईभेन्ट म्यानेजमेन्टका कोषाध्यक्ष भाष्कर भट्ट र युवा समाजसेवी अर्जुन धामीले क्यान्सर पीडित शाहीको आर्थिक अवस्था उपचार गराउँदा–गराउँदा दयनीय भएकोले आफूहरुले नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम राखेर उनको जीवन रक्षार्थ सहयोग संकलन कार्य सुरु गरेको र त्यसमा सहयोग पुर्याई दिन आम नेपाली दाजु भाई तथा दिदी बहिनीलाई आग्रह गरेका छन् ।

यसैगरी युवा संघ नेपाल कञ्चनपुरले पनि युवा संघका जिल्ला अध्यक्ष जनक शाहीको उपचारका लागि नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्य एंव युवा इन्चार्ज रवीन्द्र कुँवरको संयोजकत्वमा ३ सदस्यीय आर्थिक सहयोग संकलन समिति गठन गरी परिचालन गरेको छ ।

त्यस्तै, युवा संघ नेपालका महाकाली अञ्चल सह–सचिव कमलराज गिरीले गाउँ तहसम्म पुगेर क्यान्सर पीडित शाहीका लागि सहयोग रकम संकलनका लागि अभियानमा जुट्न आग्रह गरेका छन ।

युवा संघका नेता गिरीले क्यान्सर पीडित शाहीको उपचार खर्च जुटाउन सबै सञ्चार माध्यमलाई समेत सहयोग गरी दिन आग्रह गरेका छन् । उनलाई सहयोग गर्न चाहने महानुभावहरुले सम्पर्क राख्न सक्नु हुनेछ ।

सहयोगका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको खाता नम्वर ००१०१५०००७०३६६०००००१ महेन्द्रनगर शाखामा सहयोग रकम जम्मा गर्न सकिने छ ।

यसैगरी कञ्चनपुरको झलारीस्थित पहिचान खबरका नेपाली दैनिक प्रवन्धक अर्जुन सिहं र रेडियो प्रभु एफएमका स्टेशन म्यानेजर भोजराज पन्तले पनि क्यान्सर पीडित शाहीको सहयोगका अपिल सम्वन्धी खबर निःशुल्क प्रशारण र प्रकाशन गरी दिने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्