भारतीय नोट सटहीबारे भारतीय उच्चस्तरीय टोलीले केन्द्रीय वैंकका पदाधिकारीसंग छलफल गर्दै
काठमाण्डौ, चैत्र १३
नेपालमा रहेको प्रतिबन्धित १ हजार र ५ सय दरका भारु नोट सटहीबारे राष्ट्रवैंक र भारतीय अधिकारीहरुवीच अहिले केहीवेरमा छलफल हुँदैछ । नेपालमा रहेको प्रतिवन्धित १ हजार र ५ सयको नोट सटहीबारे बुझ्न आएको भारतीय उच्चस्तरीय टोलीले केन्द्रीय वैंकका पदाधिकारीसंग छलफल गर्न लागेको हो ।
छलफलका लागि भारतीय अर्थमन्त्रालय र रिर्जभ वैंक अफ ईन्डिया आरवीआईको ४ सदस्यीय टोली हिजो नेपाल आएको थियो । बालुवाटारस्थित राष्ट्रवैंक कार्यलयमा अहिले केहीवेरमा हुने छलफलमा नेपालमा रहेको भारतीय प्रतिवन्धित नोटबारे छलफल हुने वैंकका विदेशी विनिमय महाशाखा प्रमुख भिष्मराज ढुङ्गानाले जानकारी दिए ।
वैंक तथा वित्तिय संस्थामा रहेको ८ करोड ३४ लाख भारी रिजर्भ वैंक अफ इण्डिया आरवीआईले साट्ने प्रतिवद्धता जनाएपनि सर्वसाधरणसंग भएको भनिएको रकमका बारेमा भने अझै यकिन भएको छ । आजको छलफलमा सर्वसाधरणसंग भएको भनिएको नोटसटहीबारे छलफल हुने ढुङ्गानाले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्वर ८ मा राष्ट्रका नाममा सम्वोधन गर्दै १ हजार र ५ सयको नोटमा प्रतिवन्ध लगाएपछि नेपालमा समेत यसको प्रभाव परेको थियो । नेपालमा रहेको प्रतिवन्धित १ हजार र ५ सयको नोट सटहीको व्यवस्था नहुदा व्यवसायी र सर्वसाधरण मर्कामा परेका थिए ।
भारतमा प्रतिबन्धित नोट सटहीका लागि डिसेम्वर ३० सम्मको समय दिइएपनि नेपालमा भने लागु भएको थिएन । राष्ट्रवैंक पदाधिकारीसंग आज छलफल पछि मात्रै भारतीय टोलीले निर्णय गर्ने बताइएको छ ।
प्रकाशित मिति: १३ चैत्र २०७३, आइतबार