जलविद्युत् उत्पादनमा युवा शक्ति लाग्नुपर्छ– शर्मा


 


काठमाण्डौ, चैत्र १३
ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी हुन युवाहरुलाई आह्वान गरेका छन । एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारासबै युवालाई जलविद्युत् क्षेत्रमा लगाउने लक्ष्यका साथ सरकारले अगाडि सारेको बताए ।

ऊर्जा मन्त्रालयले तिला कर्णाली जलविद्युत् आयोजनामा सम्पूर्ण कर्णालीवासीलाई एक एक लाखको सेयर दिने प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै सोही योजना मुलुकभर नै अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । राष्ट्र निर्माणको प्रमुख आधार जलविद्युत् नै उत्तम विकल्प भएको उल्लेख गर्दै नेपालका मेहनती, अनुशासित र कर्तव्यनिष्ट युवा शक्तिलाई विश्वासमा लिएर एकाध वर्षमा उच्च आर्थिक समृद्धि गर्ने सरकारको चाहना भएको मन्त्री शर्माले स्पष्ट पारे ।

वैदेशिक रोजगारीमा रहेका युवालाई समेत स्वदेशमा फर्काउने एउटा मात्रै विकल्पको रुपमा जलविद्युत् आयोजना र त्यसमा गरिने लगानी भएको स्पष्ट पारे । क्षमताअनुसारको काम दिने र युवा शक्तिलाई मुलुक निर्माणको अभियानमा जोड्ने एउटा मात्रै विकल्प जलविद्युत् मात्रै भएको भन्दै बुढेसकालमा पेन्सन पाउने, आर्थिक रुपमा समृद्ध हुने आधार क्रमश  तयार भएको बताए ।

उज्यालो नेपालको अभियानले नेपाली जनतामा विश्वासको वातावरण तयार भएको भन्दै त्यसैका आधारमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन र परिवर्तनको एजेण्डालाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १३ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्