कारागारमा हवाई हमला, १६ जनाको मृत्यु
बेरुत, चैत्र १२
सिरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने इडलिबमा रहेको एउटा कारागारमा भएको हवाई हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
विद्रोहीले नियन्त्रणमा लिएको सो कारागारमा रातभरी हमला भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले शनिबार जनाएको छ । मृत्यु हुनेमा जेलर, जेलका सुरक्षा गार्ड पनि रहेका छन् ।
राष्ट्रपति बसर अल असदको सरकारलाई सहयोगका लागि रसियाले पठाएको यद्धक विमानले आक्रमण गरेको विश्वास गरिएको छ ।
इडलिब शहरमा यसअघि पनि यस्तै प्रकारका आक्रमणहरु हुँदा अरु धेरै जनाको मृत्यु भएको छ ।
सिरियामा छ वर्ष अगाडिदेखि सुरु भएको सरकार विरोधी हिंसात्मक द्वन्द्वका कारण अहिलेसम्म झन्डै तीन लाख २० हजार जना मारिएका छन् । रासस÷एएफपी
प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार