वार्तामा बस्न भारतसँग पाकिस्तानी राष्ट्रपतिको प्रस्ताव


 


इस्लामाबाद, चैत्र ११

पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गर्नुभएको छ ।

पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले काश्मीरमा भइरहेको विवाद सहितका सबै विवाद वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गर्नुभएको हो ।

उहाँले गैरजिम्मेबार व्यवहार, हिंसात्मक गतिविधिले सुरक्षा चुनौती बढ्दै गइरहको पनि बताउनुभयो । यसअघि सन् २००३ मा दुवै देशले युद्ध बिराम गरेका थिए ।

“संयुक्त राष्ट्रसङ्घको समन्वयमा वार्तामार्फत् काश्मीर समस्याको समाधान गर्न हामी भारतसँग वार्तामा बस्न तयार छौंँ,” उहाँले भन्नुभयो ।

“काश्मीरका जनताले स्वविवेकीय निर्णय गर्न पाउने अधिकारको हामी नैतिक, राजनीतिक र कुटनीतिक हिसावले सहयोग गर्न सधै तयार छाँै,” उहाँले थप्नुभयो ।

भारत बेलायती उपनिवेशबाट मुक्त भएको बेला सन् १९४७ देखि अहिलेसम्म भारत र पाकिस्तानकाबीचमा तीन ओटा युद्ध भएका छन् । तीमध्ये दुई ओटा युद्ध काश्मीरसँग नै सम्बन्धित छ ।

उहाँले भारत र पाकिस्तानकाबीचमा शान्तिपूर्ण वार्ता गराउनका लागि अन्तरराष्ट्रिय समुदायले भूमिका खेल्नुपर्नेमा पनि जोड दिनुभयो ।

पाकिस्तान कुनैपनि देशका विरुद्धमा आक्रोसित नभएको दावी गर्दै उहाँले क्षेत्रीय शान्ति र सम्वृद्धिका लागि पाकिस्तानले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रपति हुसेनले पाकिस्तानले आफुलाई पहिलाभन्दा अहिले सुरक्षित ठानेको पनि बताउनुभयो । रासस/सिन्ह्वा

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्