भूकम्पपीडितलाई सहुलियत दरमा काठ उपलब्ध गराउनुपर्ने


 


काठमाडौं, चैत्र १०

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जिल्लामा घर निर्माण गर्न सहुलियत दरमा काठ उपलब्ध गराउन वन मन्त्रालयसहित सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।

भूकम्प प्रभावित जिल्लामा काठको अभावमा सर्वसाधारणले घर बनाउन नसकेको गुनासो आइरहेका बेला प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज वनसचिव प्रकाश माथेमा, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीसँग छलफल गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत पोखरेलले काठ उपलब्ध गराउन माग गर्नुभएको हो ।

बैठकमा भूकम्पपीडितलाई सहुलियतमा दिने भनिएको काठ वितरणको प्रक्रिया सहज बनाएर अति प्रभावित १४ जिल्ला सदरमुकामसम्म ढुवानी गर्ने व्यवस्था मिलाउन पोखरेलले आग्रह गर्नुभएको छ ।

आवश्यक गृहकार्य गरी सक्दो छिटो भूकम्प प्रभावित जिल्लामा सहुलियत दरमा काठ उपलब्ध गराउन पहल गरिने विभागका महानिर्देशक आचार्यले बताउनुभयो ।

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्