आतंककारीको आक्रमणमा पाँच जनाको मृत्यु


 


एजेन्सी, चैत्र १०

बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण भएको छ । वेष्टमिनिस्टरमा रहेको संसद भवन नजिक भएको आक्रमणमापरि प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमाएक महिलासहित तीन जना सर्वसाधारण छन् । यस्तै प्रहरीको गोली लागेर आक्रमणकारीको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । घटनामा कम्तिमा ४० जना घाइते भएका छन् ।

कारमा आएका आक्रमणकारीले वेष्टमिनिस्टर ब्रिजमा पैदलयात्रीलाई ठक्कर दिएको र त्यसपछि संसद भवन नजिक गएर त्यहाँ रहेका प्रहरी अधिकारीलाई चक्कले आक्रमण गरेको सरकारी अधिकारीले बताएका छन् । त्यसपछि प्रहरीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए । घाइते हुनेमा तीन जना प्रहरी अधिकारी पनि रहेको र दुई जनाको अवस्था गम्भीर रहेको लण्डन महानगरीय प्रहरीका कार्यवाहक उपायुक्त मार्क रोलीले बताए ।

आक्रमणकारीको परिचय अहिलेसम्म खुलाइएको छैन । प्रधानमन्त्री थेरेसा मेले आक्रमणको निन्दा गरेका छन  ।राजधानीको मुख्य भागमा गरिएको आक्रमण बेलायती मान्यतालाई टुक्र्याउने उद्देश्यले भएको र आफूहरु त्यसलाई कहिल्यै सफल हुन नदिने प्रधानमन्त्री मेले बताए । लण्डनमा अहिले सुरक्षा व्यवस्था निकै कडा पारिएको छ र आतंककारी विरुद्ध कारवाही अभियान चलिरहेको छ ।

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्