भूतपूर्वहरुको अभूतपूर्व हुने रहर
संकेत कोइराला
एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो गायन राम्रो कि ताल, जसका कारण तिमी मैले मादल बजाएपछि नजिकै आएर बस्छौ ?’
मृगको बच्चाले जवाफ दियो– ‘मलाई थाहा छैन कि तपाईंको गायन राम्रो कि ताल । म त केवल यति जान्दछु– तपाईंको मादलमा रहेको छाला मेरी आमाको हो । जब तपाईं यसमा हान्नुहुन्छ मलाई लाग्छ, आमाले मलाई पुकार्दैछिन । तिनै आमाको आर्तनादले मलाई तपाईं सामु खिचेर ल्याएको हो ।
यदि परलोक छ भने देशमा प्रजातन्त्र ल्याउने लडाइँमा आफूलाई विसर्जन गरेका नेताहरुको अवस्था मादल सुन्ने पाठाको जस्तै हुँदो हो । बीपी, पुष्पलाल, गणेशमानसिंह, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईजस्ता युगपुरुषहरु स्वर्गको आँखीझ्यालबाट यहाँको चर्तिकला त्यही पाठा झैं सुन्दा हुन् ।
अनि विरक्तिएर आर्तनादको दुन्दुभि बजाउँदा हुन् । आफ्नो विगत सम्झिदा उनीहरुलाई नै कहालीलाग्दो हो । देशको अगाध माया हुँदाहुँदै शक्तिको माथापच्चीका कारण त्यसबेला मिल्न नसकेकोमा राजा महेन्द्र र बीपी पश्चातापको आँसु बगाउँदा हुन् ।
हुन पनि उनीहरुले शासन गरेको त्यो युग स्वर्णयुग थियो । नेपाल र नेपालीको इज्जत थियो । राष्ट्रहितका लागि राजा प्रजा समान थिए । देशका प्रमुख चार शहीद जन्माउने पुरानो दल प्रजापरिषद्का नेता राजा त्रिभुवन रहेको इतिहास छ ।
फेसबुके नेता, फेसबुके प्रशासक, फेसबुके जनताको भाइरसले देशका तमाम अंगहरु निष्कृय छन् । नूनको सोझो चिताउनभन्दा फेसबुकको लाइकमा रमाउने उन्मादले सवैलाई उत्ताउलो बनाउँदै लगेको छ ।
बाउ मरेको समाचार अपडेट नगरी घाटको कर्म गौण ठान्ने सन्तानहरु हजारौं लाखौं जन्मन थालेका छन् । सामाजिक सञ्जालमा देखिएका, लेखिएका वाक्य हेर्दा यो देशमा लक्ष्मीप्रसाद देवकोटाको वौद्धिकता, बीपी कोइराला, मदन भण्डारी, मनमोहन, गणेशमानसिंहका राजनीतिक निष्ठा रंगहीन प्रमाणित हुन्छन् ।
मानौं अष्टबक्रजस्तै जन्मिनुअघि नै सबलाई सवै कुराको ज्ञान छ । राष्ट्रियताको चकमके झिल्को यसरी प्रकट हुन्छ कि त्यो बेगले मार्क जुकरबर्गको कमाइ खाने फेसबुके भाँडोलाई नै केही समयमा जलाएर खाग बनाइदिनेछ ।
विवेकको बट्टामा विर्को लगाएर दास मानसिकताहरु असरल्ल छरिएका छन् । शिकार गर्ने ताकत सकिएपछि झिंगेदाउमा लागेको बाघ झैं अर्ती र बुद्धिका भकारी भएर बाँचेका नेता र प्रशासकका कुण्ठाले फेसबुकमा राम्रै जागिर पाएको छ ।
आफ्नो समयमा परिवर्तनका नाममा वास्तुशास्त्रीले दिएको सल्लाह हुबहु मानेर कुर्सी र टेबलको दिशा फेरेको बाहेक अरु काम नगरेका यस्ता भूतपूर्वहरुले नमागिएको सल्लाह दिएर अभूतपूर्व हुने जाँगर देखाउनु घोडाअघि बग्गीको प्रवेशजस्तै हो ।
वास्तवमा सामाजिक सञ्जालका राम्रा नराम्रा आआफ्नै विश्लेषण होलान तर यसले यो देशमा जनता नाममा कांग्रेस, एमाले, माओवादी मात्र रहेको प्रमाणित गर्छ । यहाँ मानिस मर्दैनन्, पार्टीका कार्यकर्ता मर्छन् ।
एमालेको मेची महाकाली नामको महोत्सवको झाँकी विषयमा तिनका कार्यकर्ताका उत्ताउलोपनले ‘सबै नेपाली पञ्च, सवै पञ्च नेपालीको पञ्चायती नारा’ उछिनेको भान पर्छ । आफ्नो सामथ्र्य आंकलन गर्न नसक्ने कच्चा नेतृत्वको तस्वीर यसपल्ट फेरि छताछुल्ल देखियो ।
एमाले नेताहरुहरुको उत्ताउलोपन एउटा टीनएजको अखिल कार्यकर्ताभन्दा अझ उग्र । यो कुनै आरोप पूर्वाग्रह नभएर सामाजिक सञ्जालमा प्रकट अभिव्यक्ति र दृश्य विश्लेषण गर्ने जोसुकैले निकाल्ने निष्कर्ष हो । मानौं सृष्टिको पहिलो र अन्तिम सिर्जना भनेकै एमाले हो ।
माओवादीको रुकुम, रोल्पा, प्यूठान भने झै मालेको राजनीतिक भाव भूमि भनेको झापा हो । कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिमा पहुँच जमाउँदै आएका त्यस्ता हस्तीहरुको दर्जनौं परिवार छ, जसले आफूले बालीनाली लगाएको खेतीबारीमा जंगेपिलर सरेको वर्षौं भइसक्यो । आफ्नो पदचापले खेलेका भूमि अब चाहेर पनि चन्द्र, सूर्यको अधिनमा छैन् ।
लालपूर्जामा भएकाहरुको बाली पारी तिरै थन्किने भएपछि हलोको फाली नपरेको दशकौं भइसक्यो । राजमार्गमा झाँकी लिएर हिँड्ने नेताहरुले मुलुकको प्रमुख समस्या आपूmभित्र रहेको कहिल्यै खोलेनन ।
राष्ट्रवाद र स्वाधीनताको थालनी आफ्नै बलेसीबाट शुरु गर्नुपर्ने होइन र ? बरु अरुलाई पुड्को देखाउन आपूmले नक्कली राष्ट्रवादको सहारा लिएर हिँडे । केपी ओलीलाई लाग्यो होला– मेची महाकाली बाटोमा उर्लेको भेल सवै एमाले हो ।
अहँ होइन, त्यहाँ अधिकांश लोभीपापीको झुण्ड हो । राजनीतिका नाममा तपाईंहरुले देशमा जनताको बीउ नै मास्नु भएको छ । स्थानीय निकायको चुनाव आउँदैछ ।
पत्रकारको चुनाव पनि नजिकिँदो छ । यसखाले दर्जनौं चुनाव लाइनमा छन् । वकिल, डाक्टर, न्यायाधीश त झण्डे भएको मुलुकमा अरु त के नै बाँकी छ र ? हो चुनावमा टिकट, पदको लालसा, शक्तिप्रतिको भक्तिभावका लागि तिनीहरुको उपस्थिति देखिएको हो ।
तपाईंको पदमाथिको आशक्ति हो । मानिलिनुस् , देशैभरि एमाले वर्चस्व भयो रे ! के गर्नुहुन्छ ? तेस्रो दलले पहिलो र दोस्रो जनादेश पाएका दलको फलमासु रोजीरोजी खाएको छ । भोलि उसैलाई ह्याकुलो टक्र्याउन तपाईंहरु तयार हुनुहुन्छ ।
पैसाले अघाएका कुन पार्टीका कुन नेता भेटिएला ? ४० प्रतिशत पद विक्रीमा तपाईंहरुले राख्नुभएकै छ । शान्ति सुरक्षाको जिम्मा लिएर बसेका सीडीओहरु समाज गठन गरेर राजनीति गर्छन् । उनीहरुलाई आफ्नो हैन, प्रचण्ड, देउवा र ओली हेडक्वार्टरको चिन्ता हुन्छ । न्यायाधीशहरु संघ बनाएर पानी आपैंm प्यासले तड्पिएको छनक दिन्छन् ।
न्यायालयमा पन्पिएको राजनीतिक बीउ अब अलि वर्षपछि यसरी झाँगिने छ कि त्यतिबेला कांग्रेस, एमाले र माओवादीको छुट्टाछुट्टै बेन्च हुनेछ । एउटाले गरेको फैसला अर्कोलाई चित्त बुझ्ने छैन् । त्यसपछि पूर्ण इजलासको माग हुनेछ । त्यसमा पनि सत्ता सन्तुलनको आधारमा न्यायाधीशको राय बाझिनेछ । त्यसबेला स्वतन्त्र न्यायालयको विरुप दृश्य कस्तो देखिएला, संझदा पनि काँडा उम्रन्छ ।
अब राष्ट्रियताको जग मजबुत पार्ने जिम्मेवारी कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र प्रेस जगतले नभएर सिमेन्ट र डन्डीले लिएका छन् । देशको मेरुदण्ड र नेपालीलाई जोड्ने सेतूका रुपमा यत्र, तत्र, सर्वत्र व्यापारिक विज्ञापन प्रकट हुन थालेपछि हात्ती र हात्तीछाप चप्पलबीचको अन्तर खुटिन छाडेको छ ।
नेपालको सन्दर्भमा मुलुकको कार्यकारी पद जिम्मेवारी नभएर चटकेको आसन बन्दै गयो । मूढ बुद्धि भएकाहरु पनि त्यहाँ पुगेपछि परमार्थी पुरुष बन्ने अभिनयमा मस्तराम भए ।
सिक्नु नपर्ने, सल्लाह लिनुनपर्ने तर आपूmले बोलेका हरेक वाक्य ब्रम्हवाक्य भन्ने भ्रम पाल्नुपर्ने अनौठो मनोविज्ञानबाट उनीहरु हौसिंदै गए । प्रधानमन्त्रीलाई अनुकूल हुने एजेण्डा लिएर जाने हुक्के, बैठकेहरुको भीडले ठूला मानिसहरु छोपिँदै गए ।
राम्रो लाउने र मिठो खानेमा सीमित ती एजेण्डाले व्यक्तिको अनुहार त फेरियो तर देश गर्तमा जाकिने प्रस्थान विन्दु कोरियो । जमिनविनाको त्यो अभिनय पदबा खुस्केका भोलिबाट सियोले घोचिएपछिको बेलुनको हावामा अनुवाद भयो । सिंहदरबार देशको त्यस्तो खतरनाक ७६ औं जिल्ला हो, त्यहाँ पुगेपछि अपवाद बाहेक सवै दाँत फुक्लेको बाघ भएर फर्किएका छन् ।
पुलिस र सेनामा क्रान्तिकारी संघ खुल्नुबाहेक त्यहाँ भित्रका रमिता झन्झन् छताछुल्ल भएका छन् । फौजीको हेडसर छान्न नसक्ने कस्तो कार्यकारी अधिकारका सरकार बन्न थाले अचम्ममाथि अचम्म थपिँदो छ ।
सरुवा बढुवा हुन ब्रिफकेस हटकेक बनेका सन्दर्भ भलीभाँती बाहिर आएकै हुन । देशका हरेक निर्णय दारी र सारीका प्रभावमा पर्ने क्रम तीब्र छ । जर्नेलहरुले लेखेको आत्मबृत्तान्त आत्मरतिमा अनुवाद हुँदा सिनियर गड र जुनियर डगको अवस्था राम्रैसंग उदाङ्गिएको छ ।
सामाजिक मनोविज्ञान हेर्दा लाग्छ– समयले बुढ्यौलीपनलाई विस्थापित गराइदिएको छ । रामनाम जप्नेहरु हराउँदै छन् । बरु रिटायर्डहरु नेभर टायर्ड भन्दै राज्यकै सुविधामा रमाउन कस्सिदैछन् । रिटायर्ड हुनुअघि नै पदको मेलोमेसो मिलाएर निस्कनेहरुको भीड पनि उत्तिक्कै हेर्नलायक देखिन्छ । आपूmबाहेक संसारलाई उल्लू देख्नेहरुको रोचक भीडन्त घरघर र टोलटोलका भट्टीमा देख्न पाइन्छ ।
राम्रो विचारले कालान्तरमा राम्रै कर्मको जन्म दिन्छ । त्यागको अभिमान धनको अभिमानभन्दा बढी खतरनाक हुन्छ । गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए । प्रत्येक मानिस बुद्ध हो । मात्र फरक भगवान गौतम बुद्ध उठेका बुद्ध हुन भने हामी सुतेका बुद्ध ।
हरेक मानिस जागृत हुने हो भने बुद्धत्व प्राप्त गर्न सक्छ । पुस्तकालयमा राखिएका गीता, कुरान र बाईबल आपैंंm युद्ध गर्दैनन्, जो युद्ध गर्छन तिनीहरुले त्यसको रस लिएकै हुँदैनन् । गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि ।
प्रधानमन्त्री भएका बखत बीपी कोइराला भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका तात्कालिन महासचिव केशरजंग रायमाझीलाई घरमा बोलाएर १० हजार रुपियाँ थमाए । नमागिएको पैसा पाएपछि रायमाझीले प्रयोजन सोधे । बीपीले भने– ‘ म गएपछि मेरा विरुद्ध नारा जुलुस गराउनुस् । त्यसो भयो भने मैले देश हितमा अरु बढी काम गर्न सक्छु ।’ नेहरुले नेपाल भारतसंग विलय गर्ने प्रस्ताव राख्दा राजा महेन्द्रले शर्त राखेका थिए रे– ‘देशको नाम चाहिँ नेपाल राखिनुपर्छ ।’ त्यो दूरदर्शिता अहिले मिथक बनेको छ ।
प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणसंग पनि यस्ता यक्ष प्रश्न जोडिएका छन् । बहुदलपछि बनेका प्रधानमन्त्री मध्ये कृष्णप्रसाद भट्टराई बाहेक अरुले भारतसंग सार्वभौम राष्ट्रको इज्जत धानेर संवाद नै गर्न सकेनन् ।
नेपाल भूमिमा क्रान्तिकारीहरु भारतको माटो टेक्नासाथ आज्ञाकारी हुने रोगबाट निरपेक्ष हुन सकेनन् । संग्रहालय पुगेर कोट सुम्सुम्याउदै बीपीसंग आफूलाई तुलना गर्ने आशाका पात्र प्रचण्ड भावनामा अघि काममा पछि देखिए ।
भाषणमा क्रान्तिकारी काममा आज्ञाकारी उनको पछिल्लो विशेषता बनेको छ । नेपालका कुनै कम्युनिष्ट नेतालाई अर्को देशको कम्युनिष्ट नेताले पत्याएर एउटा साइकल उपहार दिएको सुनिएको छैन तर तिनैले विरोध गर्ने राजा त्रिभुवनले हिटलरबाट पाएको गाडीको अवशेष अझै संग्रहालयमा सुरक्षित छ ।
कम्युनिष्ट नाम उनीहरुका लागि नक्कली जोगीले धसेको खरानीजस्तै भएको छ । जुन कम्युनिष्ट नेताहरु इमान्दार छन् , तिनीहरु जन्मेदेखि अहिलेसम्म सडकमै छन् । अपेक्षित इमान्दार नेताहरु ‘गद्दार’ को पुरस्कारबाट विभूषित हुने गरेका छन् । नेपालमा क्षमतावान नेता प्रशस्तै जन्मिए ।
कतिले सपना देखे, समय पाएनन् । अहिलेकाले समय पाए, सपनै देखेनन् । टंकप्रसाद आचार्य एकताका चीन भ्रमणमा थिए । त्यो बेला चीन र जापानबीच सम्बन्ध चिसिएको थियो । चीनले शान्तिदूतका रुपमा जापान गएर दुई देशबीचको सम्बन्ध सुलह गराइदिन गरेको आग्रहलाई उनले सफलतापूर्वक सम्पन्न गरिदिए ।
१४ भाषाका ज्ञाता मातृका प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाको राजदूत भएर पद सानो ठूलो हँुदैन भन्ने प्रमाणित गरे । राष्ट्रसंघमा अलिखित भाषण गर्ने मातृका त्यसवेलाका विश्वकै चर्चित वक्ता थिए ।
पञ्चायत कालको सुनलाई पनि पितल देख्ने पूर्वाग्रही चश्मा ओढेका इतिहासकारहरुले मातृकाको त्यो छविप्रति कहिल्यै न्याय गरेनन् । बीपीले राष्ट्रिय स्वाधिनताका लागि बमदेखि साइनाइटसम्म बोके ।
अपठित जंगबहादुर कति अनुशासित थिए भने पानीजहाजमा गाई, पिपलसमेत लिएर बेलायत गए । रानी भिक्टोरियालाई प्रभावित पार्न सफल उनले उताबाट आउँदा जनता सूसूचित गर्न गिद्धे प्रेसमात्र ल्याएनन, त्यहाँका सैनिकको मार्चपास अवलोकन गरेर आफ्नो देशको सैनिक संरचनामा व्यापक सुधार गरे । राजा वीरेन्द्रले झण्डै डेढसय देशबाट नेपाललाई शान्तिक्षेत्र घोषित गराए ।
कुनै पनि दलका अघिल्लो पुस्ताका नेता रहँदासम्म देशको साखमाथि कसैले खेल्न सकेको थिएन । चीनले सगरमाथा आफ्नो हो भनेर दाबी गर्दा बीपीले सोधेका थिए– ‘यदि सगरमाथा तिम्रो हो भने चिनिया भाÈामा सगरमाथाको नाम के हो ?’ यसो भन्दा चिनियाले उत्तर दिए– ‘चोमोलोङमा ।’
बीपीले तत्काल प्रतिवाद गरी त्यो तिब्बती नाम भएको भन्दै सगरमाथाको लालपुर्जा नेपालको नाममा दिलाई छोडे । एशियाका कुनै देशले इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुअघि बीपीले मान्यता दिएर निर्णय क्षमताको परिचय दिएका थिए । जसका कारण भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु उनीसंग रुष्ट बनेका थिए ।
प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार