चीन भ्रमणअघि प्रचण्डले पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने


 


काठमाडौँ, चैत्र ९

उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्नुहुने भएको छ ।

चीनमा रहँदा प्रधानमन्त्रीले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने उद्देश्यले उहाँहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल बिहीबार राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सो क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सि चिन फिनसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ ।

सम्मेलनमा सहभागी हुने विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख तथा प्रतिनिधिसँग बहुपक्षीय एवम् द्विपक्षीय बैठकसमेत हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनुपर्ने विविध विषय आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ ।

बिहीबार बिहान ९ बजे बालुवाटारमा हुने पूर्वप्रधानमन्त्री र विज्ञको बैठकमार्फत सुझाव लिने कार्यक्रम तय भएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्