विमानमा ल्याप्टप बोक्न प्रतिवन्ध


 


काठमाण्डौ, चैत्र ९

बेलायतले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । बेलायतले पनि मध्य पूर्व र उत्तर अमेरिकी देशबाट क्याबिन ब्यागमा ल्याप्टप, ट्याबलेट सहितका इलेक्ट्रोनिक्स सामान राखेर विमान चढ्न नपाउने नियम लागु गर्ने भएको हो । बेलायतले टर्कीबाट पनि विद्युतीय सामान बोकेर विमान चढ्न नपाउने नियम लागु गरेको बिबिसीले जनाएको छ ।

अमेरिकाले स्मार्टफोन भन्दा ठूलो आकारका इलेक्ट्रोनिक्स सामान बोकेर विमान चढ्न नपाउने निमय लागु गरे लगतै बेलायतले पनि यो नियम लागु गर्ने निर्णय गरेको हो । अब टर्की, लेबनान, जोर्डन, इजिप्ट ट्युनिसिया र साउदी अरेबियाबाट हुने सीधा उडानमा यात्रुले ल्याप्टप सहितका सामान बोक्न पाउने छैनन् ।

बेलायतको प्रतिबन्ध विभिन्न १४ एयरलाइन्समा लागु हुने बिबिसीले उल्लेख गरेको छ । यस्तै अमेरिकाका विभिन्न १० विमानस्थलमा सेवा दिँदै आएका नौ वटा एयरलाइन्स यो नियमबाट प्रभावित हुने छन् । डिभिडी प्लेअर, इलेक्ट्रोनिक्स गेमसहितका सामान पनि बोक्न पाइने छैन ।

टर्की सरकारले प्रतिबन्ध गलत भएको भन्दै निर्णय फिर्ता लिन माग गरेको छ । क्यानडाले पनि विमानमा इलेक्ट्रोनिक्स सामान बोक्न नपाउने नियम लागु गर्ने तयारी गरेको छ । सुरक्षाको कारण देखाउँदै इलेक्ट्रोनिक्स सामान प्रतिबन्ध लगाउन लागिएको हो ।

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्