आज विश्व पानी दिवस मनाइँदै


 


काठमाण्डौ, चैत्र ८
आज विश्व पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । दिवसको यस वर्षको नारा पानी किन खेर फाल्ने भन्ने तय गरिएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

जलश्रोत र उर्जा एक अर्कामा निर्भर रहेकाले यिनीहरुको अन्तर सम्बन्धका विषयमा जनचेतना जगाउने उद्देश्यका साथ मनाउन लागिएको दिवसका अवसरमा विभिन्न सम्बन्धित सरोकारवाला निकायहरुले विविध कार्यक्रमको आयोजना समेत गरेका छन् ।

उर्जाका सबै स्वरुपको उत्पादनका लागि पानी अत्यावश्यक पर्ने तथा पानीको निकास, उपचार र वितरणको सबै चरणमा उर्जा आवश्यक हुने भएकाले यी दुईलाई अलग गरेर हेर्न नहुनेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।

विश्वभर बढ्दो जनसंख्यासंगै आउँदा दिनमा स्वच्छ पानी र उर्जाको माग विश्वभर अझै बढ्दै जाने र यो वृद्धिले सबै क्षेत्रमा ठूलो चुनौती निम्त्याउन सक्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रसंघका अनुसार विश्वभर १ अर्ब ३० करोड मानिस बिजुलीको पहुँचमा छैनन् भने ७६ करोड भन्दा बढी मानिसले पानीको सुधारिएको श्रोतको उपयोग गर्न पाएका छैनन् । नेपालमा काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रका बासिन्दाले पानीको निकै अभाव खेप्नुपरेको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्