अब मौसमको जानकारी इमेल र एसएमएसमार्फत निरन्तर


 


काठमाडौं, चैत्र ९

हिमाल आरोहणका क्रममा हुने ठूला दुर्घटना रोक्न नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले हरेक घन्टाको मौसमको अग्रिम जानकारी दिन थालेको छ ।नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सुरक्षित आरोहणका लागि माउन्टेन गाइड, आरोही गाइड र सम्पर्क अधिकृतलाई चैत २ देखि इमेल र एसएमएसमार्फत घन्टैपिच्छेको मौसमसम्बन्धी जानकारी दिन थालेको हो ।

आरोहण दल हिमाल जानुअघि पाँच दिनसम्मको मौसमी विवरण उपलब्ध गराउन थालिएको छ । आवश्यकताअनुसार घन्टैपिच्छे मौसमी अवस्था र पूर्वानुमानको जानकारी दिन थालिएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक उत्तम भट्टराईले बताए ।

मौसमको जानकारी नहुँदा हिमालमा दुर्घटना बढेकाले यसबाट बचाउन सेवा सुरु गरिएको उनले बताए । आरोहण अवधिभर मौसमसम्बन्धी जानकारी दिइनेछ । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ एनएनएमजीए सँग सहकार्य गरी अभियान सुरु गरिएको हो ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले मौसमविद् केबी मानन्धरलाई नियुक्त गरी हिमाली क्षेत्रको मौसमबारे सूक्ष्म जानकारी र पूर्वानुमान थालेको हो ।मौसमको जानकारी नहुँदा हिमपात, हिमपहिरो र आँधीले ज्यानै जाने खतरा हुन्छ । क्याम्पिङको व्यवस्था, थप सुरक्षाका योजना निर्माण गर्न मौसमको जानकारी भए सहयोग मिल्ने प्रतिष्ठान बताउँछ ।

मौसमको जानकारी नभएकाले सन् २०१४ मा अन्नपूर्ण क्षेत्रमा हुदहुद आउँदा करिब पचासजनाको मृत्यु भएको थियो भने करोडौंबराबरको सम्पत्तिमा क्षति पुगेको थियो ।

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्