सानाेदुम्मामा ढाका बुनाइ तालिम सुरू


 


असिम दुङमाली राई
पौवादुङमा, (भोजपुर) चैत्र ८

जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं.–५, सानोदुम्मामा ढाका बुनाइ तालिम सुरू भएको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति, भोजपुरको आर्थिक तथा प्राविधिक अनुदान सहायतामा तालिम सञ्चालन भएको हो ।

स्थानीय सहजीकरण सानोदुम्माकै विसौनी महिला साकोसद्वारा भइरहेको छ । तालिम अवधिमा ढाकाको टाइ, टोपी, पछ्यौरा, मफलर, रुमाल, चौवन्दी चोली तथा सर्टको लागि कपडाहरु आदि बुन्न सिकाइनेछ ।

प्रशिक्षक चैनाकुमारी राईका अनुसार, करीव दुइ हप्ता समय तानको तयारी गर्नमै खर्च भएको हुनाले सारी लगायत अन्य थप सीप सिकाउन बाँकी रहेको छोटो समय अवधिमा कठिन हुनेछ ।

तालिममा सानोदुम्माका सबै वडाहरुबाट गरेर जम्मा १० जना महिला प्रशिक्षार्थीहरु सहभागी रहेका छन् । यस किसिमको तालिमबाट आफू महिलाहरुलाई ठूलो हौसला मिलेको र यसको अवधि लम्बाउने वा अर्को पटक समेत थप तालिमको अवसर भएमा गाउँमै केही गर्न सकिने अटोट रहेको सहभागीहरु मध्येकी इशोरा राईले बताइन् ।

तीन महिना अवधि सम्म चल्ने तालिमको सम्पूर्ण लागत खर्च जिल्ला घरेलु तथा साना उद्योग विकास समिति, भोजपुरद्वारा उपलब्ध गराइनेछ । तालिममा अनुमानित डेढ लाख भन्दा बढि लाग्ने जानकारी जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका लेखापाल राजन भट्टराईले उद्घाटन कार्यक्रममा दिएका छन् ।

आज भन्दा करीव अढाइ सय वर्ष अघि नै बेलायतले फ्लाइङ सटल, पावर लुम जस्ता उपकरणहरुको आविष्कार र प्रयोग गर्दै औधोगिक क्रान्ति मार्फत यस किसिमको हाते कपडा बुनाइलाई विस्थापन गरेको इतिहास पढ्न पाइन्छ ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्