सीमा नाकाबाट पाँच महिलाको उद्धार


 


इलाम, चैत्र ८

माइती नेपाल, पशुपतिनगरले अवैध तरिकाले भारत लैजान लागेका पाँच जना महिलाको सीमा नाकाबाट उद्धार गरेको छ । मानव बेचबिखनका लागि भारत लैजाँदै गरेका महिलालाई नेपाल–भारतको सिमाना छब्बिसे भन्ने ठाउँबाट सोमबार उद्धार गरेको माइती नेपाल, पशुपतिनगरका कार्यक्रम संयोजक होम ढकालले जानकारी दिनुभयो ।

माइती नेपालका अनुसार उद्धार गरिएका सबै महिला गोरखाको उहियाका रहेका छन् । महिलालाई कुवेत र पाकिस्तानमा रोजगारीका लागि लैजाने भनेर एकै दिनमा काठमाडौँबाट राहदानी बनाई ल्याइएको ढकालले बताउनुभयो ।

भारतीय प्रहरी र स्थानीय महिलाको सहयोगमा माइती नेपाल पशुपतिनगरले ती महिलालाई उद्धार गरेको हो । महिलालाई छब्बिसेको बाटो भएर आउनु भारतमा लिन आउँछु भनेकाले दलाल भने पक्राउ गर्न नसकिएको माइती नेपालले जनाएको छ ।

उद्धार गरिएका महिलालाई माइती नेपाल पशुपतिनगर आवधिक गृहमा राखेर आफन्तको जिम्मा लगाइने संयोजक ढकालले बताउनुभयो ।

 

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्