काठमाडौं महानगरपालिकामा कति भए मतदानस्थल र मतदान केन्द्र ?


 


काठमाडाैं, चैत्र ७

मतदान केन्द्र सिफारिस समितिले आगामाी वैशाख ३१ गते हुने निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा १६५ वटा मतदानस्थल र ३७९ वटा मतदान केन्द्र तोकेको छ ।

यस महानगरमा सबैभन्दा बढी वडा नं. ३१ मा ११ वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र निर्धारण गरिएको काठमाडौँ महानगरका सूचना अधिकारी चन्द्रमणि भट्टराईले जानकारी दिए ।

यस्तै सबैभन्दा कम मतदाता रहेको वडा नं ९ मा मतदानस्थल ९ वटा र मतदान केन्द्र १६ वटा निर्धारण गरिएको छ । त्यस्तै सबैभन्दा बढी १९ हजार १५७ मतदाता रहेको वडा नं १६ मा १० वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । वडा नं ३२ मा भने नौ वटा मतदानस्थल र २४ वटा मतदान केन्द्र रहेका छन् ।

समितिले काठमाडौँ जिल्लामा साविकमा रहेका ३११ मतदानस्थलको सङ्ख्या बढाएर अहिले ३२० वटा र साविकमा रहेका ७४१ वटा मतदान केन्द्र बढाएर ७४५ वटा सिफारिस गरेको छ ।

स्थानीय तह पुनःसंरचना भएसँगै काठमाडौँ जिल्लामा साविकका २१० वटा वडाबाट सङ्ख्या घटेर अहिले १३८ कायम छन् ।

वडा नं ६, ७ र २६ मा मतदानस्थल सात/सात वटा रहेका छन् भने मतदान केन्द्र ६ र ७ वडामा १८/१८ वटा साथै वडा २६ मा आठ वटा रहेका छन् । काठमाडौँ महानगरपालिकामा करिब दुई लाख ७४ हजार ४३८ मतदाता रहेको जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्