स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु हुँदै


 


काठमाडौ, चैत्र ६

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि मतपत्र छपाईको काम सुरु गर्दैछ । मतपत्र छपाई परिक्षणका साथै सम्पूर्ण तयारी पूरा भएको ओगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

निर्वाचन आयोगले मतपत्रको छपाइ काम चैत ५ बाट नै सुरु हुने जनाएको भएपनि मतपत्र डिजाइनमा केही ढिलाइ भएकाले आजबाट मात्र छपाई सुरु हुन लागेको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त आयोधि प्रसाद यादव सहितका पदाधिकारीहरुले हिजो नमुना मतपत्र छपाइको अवलोकन गरेपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको हो ।

मतपत्रको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छपाइ गर्ने तयारी गरेको जानकारी दिएको छ ।

मतदाता नामावली प्रशोधनको कार्य भइरहेकाले औपचारिक मतदाताको संख्या आउन बाँकी छ । आयोगले छ आकारका र ७५ जिल्लाका लागि ७५ वटै प्रकारका मतपत्र छपाइ गर्ने तयारी गरेको पनि प्रवक्ता शर्माले जानकारी दिए ।

आयोगले निर्वाचन प्रयोजनका लागि केन्द्रमा तथा ७५ वटै जिल्लामा दलहरूको दर्ता गरी निर्वाचन व्यवस्थापनका लागि सहज बनाएको छ । आयोगमा हाल ११३ वटा राजनीतिक दल दर्ता भएका छन् । काठमाण्डौ जिल्लामा सबैभन्दा बढी ४७ र मनाङमा सबैभन्दा कम ६ वटा दल दर्ता भएका छन् ।

हाल व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलहरूले मात्रै २०७० सालको संविधानसभा निर्वाचनका लिएको निर्वाचन चिह्न पाउनेछन् भने अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचन चिह्न पाउनेछन् ।

प्रकाशित मिति: ६ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्