उत्तर कोरियाद्धारा  उच्च क्षमताको रकेट परीक्षण


 


एजेन्सी, चैत्र ६

उत्तर कोरियाले नयाँ तथा बिस्तारित क्षमताको रकेट इन्जिनको परीक्षण गरेको छ । उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परीक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ ।

यो परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नयाँ स्तरमा पुगेको नेता किम जोङ्ग उनले घोषणा गरेको समाचार संस्था केसिएनएले जनाएको छ । नयाँ सकेटले विश्व स्तरको स्याटेलाइट प्रक्षपणका लागि उत्तर कोरियालाई सहयोग गर्ने नेता किमको भनाई छ ।

अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले चीनको भ्रमण गरे लगतै उत्तर कोरियाले रकेट परीक्षण गरेको हो । चीन पुग्नुअघि दक्षिण कोरियामा भएका टिल्लर्सनले शुक्रबार उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाका सैनिकलाई चुनौती दिएमा त्यसको प्रतिबाद गर्ने बताए।

उत्तर कोरियाले पछिल्लो समय लगातार आणविक परीक्षण तथा मिसाइल प्रक्षपण गर्दै आएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्